बिशेष

पीडितका नाममा राहत संकलन, अनियमितता बढ्दो (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक २० गते २०:३८
पीडितका नाममा राहत संकलन, अनियमितता बढ्दो (भिडियो रिपोर्टसहित)

२० कात्तिक २०८० काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका लागि राहत तथा पुनस्स्थापनका लागि सहयोग गर्ने र सहयोग जुटाउने क्रम बढेको छ । सरकार, विभिन्न संघसंस्था र व्यक्तिगत तबरबाट नै राहतका लागि रकम संकलन गरिरहेका छन् ।

सरकारले राहत वितरणमा एकद्वार नीति लिएको छ तर आफ्नो खुसी रकम संकलन गर्ने र पायक पर्ने ठाउँमा केही खाद्यन्न सामाग्री बोकेर बाड्दै हिड्नेको संख्या घटेको छैन । यसले राहत वितरणलाई विकृत बनाइरहेको मात्र छैन राहत पर्खिरहेकालाई पीडा थपेको छ ।

नेपाल प्रहरीले शनिबार नै एक सूचना जारी गरि भूकम्प प्रभावितको नाममा अवाञ्छित गतिविधि र ठगी हुनसक्ने भएकाले निश्चित गरेर मात्र सहयोग गर्न आमनागरिकलाई सचेत गरायो । विगतका विभिन्न विपद्का घटनामा त्यस्ता सहायता घोषणा हुने र कतिपय सहायता रकम तथा सामाग्रीकै दुरुपयोग भएका घटना बाहिरिएपछि प्रहरीले सचेत गराएको हो । तर यो पटक पनि त्यो क्रम भने रोकिएको छैन । ्

कांग्रेससम्बद्ध नेपाल विद्यार्थी संघले व्यक्तिकै नामको खाता दिएर सहयोगका लागि आह्वान गरेको छ । त्यस्तै निजी विद्यालयहरुको संगठन प्यावसनले पनि आफ्नै खाता दिएर रकम मागेको छ । अरुपनि यस्ता धेरै संस्थाहरु छन् आफ्नै खाता दिएर सहयोग माग्ने । त्यो रकम कति सदुपयोग हुन्छ भन्ने तर्फ कसैको चासो छैन ।

उसो त सरकारले राहत वितरणमा एकद्वार नीति लिएको छ । तर राज्य संयन्त्रलाई विश्वास नगरेर सामाजिक संजालमा राहत बाडेको फोटो हाल्ने र चर्चा कमाउनकै लागि भएपनि आफूखुसी पायक पर्ने ठाउँमा केही खाद्यन्न र अन्य सामग्री बोकेर जानेको संख्या घटेको छैन् । यसले राहत वितरण विकृत बन्नुका साथै सरकारलाई निरिह बनाइदिइएको मात्र छैन प्रभावितले अझे कष्टपूर्ण जीवन बिताउन बाध्य पारेको छ ।

विभिन्न उद्योग व्यवसायी र संघसंस्थाहरुले र मित्रराष्ट्रहरुबाट पनि आर्थिक सहयोगको घोषणा भइरहेका छन् । आइतबारसम्म ४७ करोड रुपैयाँ सहयोग प्रतिवद्धता आइसकेको छ । २०७२ सालको भूकम्पको बेलामा घोषणा भएका कयौँ सहायताहरु पछि नआएको र कतिपय अवस्थामा दूरुपयोग भएको घटना ताजै छ ।

तसर्थ त्यस्ता संयन्त्र गर्न सरकारले सतर्कता अपनाउँदै वास्तविक प्रभावितले उपयुक्त ढंगबाट राहत पाउने वातावरण बनाउनु पर्छ । त्यसका लागि एकद्वार प्रणालीलाई प्रभावकारी बनाई मनोमानी राहत संकलन गर्ने र फगत चर्चाका लागि केही रकम र केही थान कम्बल बोकेर प्रभावितसँग फोटो खिच्न तछाड मछाड गर्नेलाई निरुत्साहीत बनाउनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *