बिशेष

जाजरकोट भूकम्पबाट मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ जना घाइते

हिमालय टिभी
२०८० कार्तिक १८ गते १७:१४
जाजरकोट भूकम्पबाट मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ जना घाइते

१८ कात्तिक २०८० काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ४३ पुगेको छ । १६६ जना घाइते भएका छन् ।

जाजरकोटमा एक सय ५ जनाको मृत्यु भएको छ । ८१ जना घाइते भएका छन् । रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । ८५ घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

गम्भीर घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत काठमाडौं ल्याइएको घाइतेलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

घाइतेहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेत, जाजरकोट र रुकुम पश्चिमका अस्पतालहरुमा उपचार भइरहेको छ । भूकम्पबाट जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ।

नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पले माटोको जोडाइ भएका अधिकांश घरहरु भत्किएका छन् । खलंगामा जिल्ला मालपोत कार्यालयलगायत प्राय घरहरू भत्किएका छन् । जिल्ला प्रशासन कार्यालय रहेको जाजरकोट दरबार पनि चर्किएको छ ।

भूकम्पमा परेकाको खोजी जारी रहेको र मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *