बिशेष

दश वर्षपछि नेपाल टी–२० विश्वकप क्रिकेटका लागि छनोट

यूएई ८ विकेटले पराजित

हिमालय टिभी
२०८० कार्तिक १७ गते १४:२४
दश वर्षपछि नेपाल टी–२० विश्वकप क्रिकेटका लागि छनोट

१७ कात्तिक २०८० काठमाडौं । नेपालले एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै १० वर्षपछि आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकपमा स्थान बनाएको छ । नेपालले सन् २०१४ मा ट्वेन्टी–ट्वेन्टी विश्वकप खेलेको थियो ।

जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७ दशमलब १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा ओपनर आसिफ शेखले अर्धशतकीय पारी खेले ।

शेख ५१ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा अविजित रहे । कप्तान रोहितकुमार पौडेल पनि २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा अविजित रहे ।

नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । भुर्तेल ११ रनमा क्याच आउट भए । गुलशन झाले २२ रन जोडे । युएईका निलांश केस्वानी र बासिल हामिदले एक(एक विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहितकुमार पौडेलले एक( एक विकेट लिए । नेपालले अव उपाधिको लागि फाइनलमा आइतबार ओमानसँग खेल्नेछ । ओमानले अर्को सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

बहराइनले दिएको १०७ रनको सामान्य लक्ष्य ओमानले विना क्षति १४ दशमलब २ ओभरमा पूरा गर्‍यो । फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार बिहान ११ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *