बिशेष

च्यासलमा एमाले-पूर्वएमालेको पुनर्मिलन, गुल्जार दृष्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक १५ गते २०:४०
च्यासलमा एमाले-पूर्वएमालेको पुनर्मिलन, गुल्जार दृष्य (भिडियो रिपोर्टसहित)

१५ कात्तिक २०८० काठमाडौं । बुधबार नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेताहरुलाई पनि निमन्त्रणा गरिएको थियो । पार्टी विभाजनपछि पानी बाराबारको व्यवहार गरिरहेका दुवै पार्टीका नेताहरु च्यासलमा भेट हुँदा रोमाञ्चक वातावरण देखियो । यतिसम्मकी एकीकृत समाजवादीका नेता पुग्दा माहोल नै बदलियो ।

लामो समयदेखि विछोडिएको सन्तान भेटेजसरी ग्वाम्म अंगालो हाल्ने महिला हुनुहुन्छ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । अनि अंगालोमा बाँधिने महिला उनै चिरपरिचित रामकुमारी झाँक्री । यो, बालसुलभ र वात्सल्य प्रेम झल्कियो, बाको घर, अर्थात् नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा । सार्वजनिक बाकै छबि बनाउनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यो सुन्दर पुष्पगुच्छा उपहार दिएर नोस्टाल्जिक बनिरहनु भएको छ, रामकुमारी झाँक्री ।

एमालेमा विद्रोह गरी नयाँ पार्टी बनाएपछि नेकपा एकीकृत समाजवादीका नेताहरुले यसरी बाको प्रेम पाएको पहिलो पटक हो । दुई वर्ष पूरा भइसक्यो, एमाले छोडेकाहरु बाका लागि मरेतुल्य थिए, तर फेरि प्रेमको सुगन्ध छर्दै च्यासलमा केही दृष्यहरु फक्रिए । नेकपा एमालेले यसअघि न कहिल्यै एकीकृत समाजवादीलाई पार्टी भन्यो, न कहिल्यै आफ्ना शुभ कार्यहरुमा निम्ता दियो ।

चितवनमा भएको पार्टीको दशौँ महाधिवेशनमा लाखौँ कार्यकर्ता उतारेको एमालेले मञ्चभरि विभिन्न दल र देशका पाहुना बसाल्यो, एकीकृत समाजवादीलाई बोलाएन । बरु ओलीले पार्टी फुटाएर गएकाहरुलाई कुलंगारको संज्ञा दिइरहनुभयो ।
तर यो दृष्यले भने अब एमाले र एमाले छोड्नेहरुबीच विगतको तितो र पिरो कम होला कि भन्ने देखाएको छ ।

एमालेले पहिलो पटक एकीकृत समाजवादी पार्टीलाई पार्टीको मान्यता दियो, लरखराएका सम्बन्धहरुमा फेरि प्राण भर्ने प्रयास गर्यो, यसैले होला, रामकुमारी र झलनाथहरुको उपस्थितिले च्यासलको माहोल गुल्जार बन्यो । विगतमा एउटै छाना र माना भनेर हिँडेकाहरुलाई समयले दुई किनार बनाइसकेको छ तर समानान्तर किनारहरु फेरि केही झुकेर, केही नुघेर संगम खोजिरहेको आभास गराउने दृष्यले शुभेच्छुकहरु रोमाञ्चित बने ।

एमालेले गरेको चियापानमा निम्तो आउने छनक पाएपछि अध्यक्ष माधव नेपाल रौतहटतिर लागिसक्नु भएको छ, बाँकी नेताहरु सकेसम्म च्यासल पुग्ने र हार्दिकता बाँड्ने कुरामा सन्तुष्ट देखिए । विगतमा एकैठाउँमा रहँदा र छुट्टिँदासमेत ओलीको खेदो खनेर नअघाएका झलनाथ खनालसमेत च्यासलमा खुल्नुभयो । दृष्य देख्दा लाग्छ, एकीकृत समाजवादीका नेताहरुलाई एमालेको निम्तोको व्यग्रता थियो, पूरा भयो । विगतमा एकीकृत समाजवादीलाई पार्टी र नेताहरुलाई मान्छे नगनेको एमाले कसरी लचक भयो अहिले ?

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री पछिल्लो समय आफ्नै पार्टीसँग सन्तुष्ट हुनुहुन्न । पार्टी बैठकमा गुनासो र सार्वजनिक मञ्चहरुमा आलोचना गर्दै आउनु भएको छ । अनि एमालेमा फर्किने चर्चासमेत भइरहेको छ । तर च्यासलको चियापानमा देखिएका यी दृष्यले ती आशंकाहरु सही थिए, भनिदिँदा अन्यथा हुँदैन ।

हुन त एकै ठाउँमा देखिनु, हार्दिकता साट्नुजस्ता कुराहरुको पछाडि दौडिएर राजनीतिक कोर्षको व्याख्या गर्नु पक्कै सही होइन, तर हावाको झोक्का आएरै पात हल्लिएको हो भने कुरा लुकाउनु पनि किन र ? खैर, कोजाग्रत पूर्णिमामा नेपाली कांग्रेस र त्यसलगत्तै नेकपा एमालेले चियापान कार्यक्रम गर्ने प्रचलन बसिसकेको छ । यी दुवै कार्यक्रममा विभिन्न दलका नेताहरुलाई निम्तो गरिन्छ, नेताहरु पुग्छन्, हार्दिकता साट्छन् । जसले सद्भावलाई नवीकरण गरिरहन्छ । तर प्रचलन भइसकेका कार्यक्रमहरुमा पनि यदाकदा देखिने यस्ता दृष्यले थप रोमाञ्चित त बनाउँछ नै त्यसमाथि सद्भावपूर्ण राजनीति र त्यसैको कुइनेटोमा फक्रिएको प्रेमको फूलको छुट्टै सुगन्ध आउँदो रहेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *