रजिना एक दिने शिक्षामन्त्री बनेपछि… (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १५ गते २०:२१
रजिना एक दिने शिक्षामन्त्री बनेपछि… (भिडियो रिपोर्टसहित)

१५ कात्तिक २०८० जनकपुरधाम । चलचित्रमा एक दिनका लागि मन्त्री र मुख्यमन्त्री बनेको घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यस्ता पटकथा सहितको काल्पनिक चलचित्र तपाई हामीले देखिरहेका छौं ।

चलचित्रका यस्ता काल्पनिक घटना मधेश प्रदेशले वास्तविक बनाइदिएको छ । महिला सशक्तिकरण अभियानअन्तर्गत एक संस्थाले मधेश प्रदेशमा धनुषाकी मुस्लिम समुदायकी एक किशोरीलाई एक घण्टाका लागि शिक्षामन्त्री बनाएको थियो ।

मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयमा बुधबार फरक दृष्य देखिन्छ । मन्त्रीको कुर्सीमा बस्दै आउनुभएका महेशप्रसाद यादव सामान्य कुर्सीमा बस्नुभएको छ । र, मन्त्री बस्ने कुर्सीमा हुनुहुन्छ, धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षिया किशोरी रजिना खातुन । उहाँको वरिपरी केही विद्यार्थीले आफ्नो विद्यालयमा भोगिरहेको समस्या सुनाइरहेका छन् ।

दाहिने हात असामान्य रहेकी खातुनको टेबलमा लेखिएको छ, माननीय शिक्षा तथा संस्कृति मन्त्री । अर्थात बुधबार एक घण्टाका लागि उहाँ शिक्षा मन्त्री बन्नुभयो । महिला सशक्तिकरणमा काम गरिरहेको एक संस्थाको समन्वयमा उहाँ मन्त्री बन्नुभएको हो ।

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर सो संस्थाले विकासको कामसहित बालिका, किशोरी तथा महिलाको सशक्तिकरण गर्ने अभियान अन्तर्गत विभिन्न पदमा बालिकालाई पदासिन गराएर उनीहरूको आत्मबललाई बलियो बनाउन सो संस्थाले वर्षेनी यस्तो अभियान चलाइरहेको छ ।

महिला सशक्तिकरणमा मधेश प्रदेश निक्कै पछि छ । शिक्षाको कमी तथा कठोर पितृसत्तात्मक संरचनाबाट सिर्जित र संरक्षित सांस्कृतिक अभ्यास तथा सामाजिक परिवेशका कारण महिला हिंसाको अवस्था मधेसमा डरलाग्दो छ । नेपाल प्रहरीको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा बलात्कार, बलात्कारको प्रयास, बहुविवाह, बालविवाह, बोक्सी, गर्भपतन र घरेलु हिंसाका पाँच हजारभन्दा बढी घटना दर्ता भएका छन् । उजुरी नपर्ने घटना यो भन्दा दोब्बर रहेको अनुमान छ । उत्पीडनमा रहेको महिलाको सशक्तिकरणमा यो अभियानले महत्वपूर्ण सहयोग पुग्ने विश्वास मन्त्री यादवको छ ।

रजीनाका लागि त्यो अकल्पनिय त्यो क्षण मात्र थिएन उनमा पृथक हौसला र आत्मविश्वास पनि थियो । आफु घर गएर बुवाआमालाई शिक्षा, दक्षता, पहुँच र सफलताको बारेमा ज्ञान दिने भन्दै आफनो खुट्टामा उभिएपछि मात्र विवाह गर्नेमा दृढता उहाँमा पलाएको छ ।

मन्त्रालयको बारेमा जान्दै नजानेकी किशोरी मन्त्री, सरकार र कार्यसम्पादनमा कर्मचारीको भुमिका बारे पनि जान्ने मौका पाउनुभयो । एक घण्टाका लागि मन्त्री बनेकी रजिना गाउँपालिकास्थित श्री राष्ट्रिय माविमा कक्षा आठमा अध्ययन गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *