प्रधानमन्त्री प्रचण्डद्वारा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छलफल
१५ कात्तिक २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।
यसअघि पनि प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग भेटेर शान्ति प्रक्रियामा सहमति जुटाउने प्रयास गर्नुभएको थियो । तर, ओलीले आफ्नो कारणले नभई प्रधानमन्त्री प्रचण्डकै कारणले अझै शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन नसकेको आरोप लगाउँदै आउनुभएको छ ।
नेपाल भ्रमणमा रहेका बेला राष्ट्रसंघका महासचिव गुटेरेसले शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुंग्याउन दलका शीर्ष नेताहरूलाई भेटेर आग्रह गर्नुभएको थियो । मंगलबार संयुक्त सदनलाई सम्बोधन गर्दै पनि पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन उनले दलहरूलाई सुझाव दिनुभएको थियो ।
शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयलाई राजनीतिक दलहरुले सत्ता स्वार्थको लागि आफूअनुकुल अडान राख्दै आएकाले अहिले समितिमा रोकिएको छ । कानून न्याय तथा मानव अधिकार समिति बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकमा सहमति जुटाउन यसअघि नै असफल भइसकेको छ ।
कानून समितिले ११ सदस्यीय उपसमिति गठन गरेर यो विधेयकलाई निष्कर्षमा पुर्याउन भनेको थियो । तर, उपसमितिले अपूरो प्रतिवेदन समितिलाई बुझाएको छ ।
प्रतिक्रिया