बिशेष

संसदको रोष्टमबाट संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको ६ सन्देश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक १४ गते २०:४३
संसदको रोष्टमबाट संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको ६ सन्देश (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०८० काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको एजेन्डा संक्रमणकालीन न्याय र जलवायु परिवर्तन भएको दावी गरेको थियो ।

त्यसैले इजरायल र हमासबीचको युद्ध चर्किरहँदा गुटेरेसको नेपाल भ्रमणको औचित्यमाथि नै प्रश्न उब्जिएको थियो । तर गुटेरेसले मंगलबार संयुक्त सदनलाई सम्बोधन गर्दै संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा मात्र नभई भ्रमणको मुख्य उद्देश्य जलवायु भएको सन्देश दिनुभएको छ । र सरकारलाई संक्रमणकालीन न्याय भन्दा पनि अहिले नेपालले भोगेको जलवायुको समस्यामा केन्द्रित हुन सुझाउनुभएको छ ।

आइतबार बिहान १ बजे काठमाडौँ अवतरण गरेपछि दिनभर राजनीतिक भेटघाटमा ब्यस्त देखिनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको माध्यमबाट सरकारले संक्रमणकालीन मुद्दा टुंग्याउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्‍यो । र शान्ति स्थापनार्थ गठन गरिएको राष्ट्रसंघले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानलाई सहर्ष स्वीकार मात्र गरेन टुंग्याउनका लागि सुझाव समेत दियो ।

प्रचण्डले आएकै दिन राजनीतिक भेटघाटमा बढी ध्यान केन्द्रित गराउनुको ध्येय यही थियो । तर गुटेरेसले भने संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा टुंग्याउने सुझावसँगै आफ्नो भ्रमणको मुख्य उद्देश्य भने जलवायुसँग जोडिएको हो भन्ने प्रमाणीत गरिदिनुभयो । गुटेरेसले नेपाल आएर जे कुरा विश्वसामु उजागर गरिदिए त्यो नेपालले लामो समयदेखि गर्न सक्दथ्यो । तर त्यसका लागि गुटेरेसको नेपाल भ्रमण कोशेढुंगा सावित भएको छ ।

गुटेरेसको नेपाल र विश्वलाई सन्देश
जलवायु परिवर्तनबाट नेपाल आक्रान्त छ । हिमालमा हिउँ देखिँदैनन् । कहिले बाढी त कहिले पहिरोले आक्रान्त बनाउने गरेको छ । अनावृष्टि र अतिवृष्टिले नेपाललाई गाँजेको दुई दशक बढी भइसक्यो । अन्तर्राष्ट्रिय फोरममा नेपालले सहभागी जनाउँदा जलवायुको असरबारे जानकारी गराएपनि न कसैले अहिलेसम्म नेपाल जस्तो अतिकम विकसित देशको कुरा सुन्यो, न पत्यायो । तर, गुटेरेसले संयुक्त सदनमा सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनले भोगेको असरबारे विश्वलाई उजागर गर्नुभयो । उहाँले ठूला राष्ट्रका कारण सानो देशले समस्या भोगिरहनुपर्ने अवस्थाको अन्त्य गर्न विश्वलाई अपिल समेत गर्नुभयो ।

जलवायु परिवर्तन न्यूनीकरणमा ध्यान नदिए विश्वले पानी तथा जमिनको लागि भविष्यमा भयंकर प्रतिस्पर्धा गर्नुपर्ने गुटेरेसको चेतावनी थियो । हुन पनि हिमालयका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको छ । र, गुटेरेसले भविष्यमा सिन्धु, गंगा र ब्रह्मपुत्र जस्ता हिमालयका प्रमुख नदीहरूको बहाव अत्यन्तै सीमित हुने बताउँदै गुटेरेसले नेपाल र अन्य विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायुसम्बन्धी कार्यलाई तीव्रता दिन र हालको वैश्विक संकटको सामना गर्न धेरै अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान समेत गर्नुभएको थियो ।

सदनमा आएर जलवायुले पारेको प्रभावबारे सम्बोधन गर्नु अघि गुटेरेसले सगरमाथा र अन्नपूर्ण बेस क्याम्प पुगेर त्यहाँ यसले पारेको प्रभावबारे स्थानीयसँग भलाकुसारी गर्नुभएको थियो । तापमान वृद्धिले हिमाली क्षेत्रमा धेरै हिमनदी पग्लिएर भू–क्षय, पहिरो जस्ता समस्या त्यहाँका समुदायले भोगिरहेको स्थानीयले बताएका थिए ।

गुटेरेसले दुवै स्थानबाट विश्वलाई जलवायु परिवर्तन न्यूनीकरणमा प्रभावकारी ऐक्यबद्धता देखाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभएको थियो । जलवायु परिवर्तनकै असरस्वरूप दक्षिण अन्नपूर्ण हिमनदी तीव्र रूपमा पग्लिएको छ । भू–क्षय र कटानले आधार शिविर नै जोखिममा परेको छ । हिमआँधी, हिमपहिरोलगायत विपद् भोग्नु परिरहेको छ । नेपालले विभिन्न फोरमको सदुपयोग गर्न नसक्दा पीडित भएर बस्नु परेको छ । गुटेरेसले संसदबाट विश्वलाई जलवायु परिवर्तनको परिणामस्वरूप यो देशमा के भइरहेको छ भन्ने चित्र देखाइदिनुभएको छ ।

विश्वका लागि चिन्ताको विषय भइरहँदा नेपालले भने यस विषयमा अहिलेसम्म चासो दिने गरेको पाइँदैन । गुटेरेसको भ्रमणलाई पनि संक्रमणकालीन न्याय विधेयकसँग मात्रै जोडेर देखाउन खोजिएको थियो । भलै यसबारेमा पनि दलहरुलाई सन्देश दिइरहँदा गुटेरेसको मुख्य चासो भने जलवायुसँग जोडिएको थियो । गुटेरेसले सदनबाटै विश्वलाई नेपाल र नेपालीले भोगेको समस्या देखाइरहँदा अब सरकारले यसलाई कसरी क्यास गरेर विश्वसामु प्रस्तुत हुन्छ त्यो महत्वपूर्ण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *