नेकपा एमाले : ‘बा’ को शासनमा अटेरी सन्तान (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०८० काठमाडौं । नेकपा एमालेबाट समानुपातिक सांसद बनेका एकनाथ ढकालले दिएको दशैं शुभकामना विवादमा तानिएको छ । यसले ढकाललाई मात्रै होइन् पुनः एक पटक एमालेलाई पनि विवादमा तानेको छ ।
फरक पार्टीको अध्यक्ष रहेका ढकाललाई एमालेले समानुपातिक सांसद बनाउँदा आर्थिक लेनदेन भएको भन्दै आलोचना भएको थियो । हुन त ढकाल मात्रै होइन् विगतका केही पात्रले पनि एमालेलाई लज्जित बनाइसकेकै छन् ।
यो एमालेको समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका एकनाथ ढकालले दिएको दशैं लगायत चाडपर्वको शुभकामना हो । हुन त यसरी चाडपर्वको शुभकामना दिँदा अनौठो मान्नुपर्ने होइन । तर, ढकालको शुभकामनामा चाँही अनौठो मान्नुपर्ने ठाउँ छ । शुभकामना दिँदा ढकालले नामको तल संघीय सांसद, प्रतिनिधिसभा लेख्नुभएको छ । त्यसको मूनी उहाँले अध्यक्ष, नेपाल परिवार दल भनेर लेख्नुभएको छ ।
अनौठो मान्नुपर्ने ठाउँ नै यहीँ हो । किन कि उहाँ एमालेबाट सांसद बन्नुभएको हो । अनि यो सांसदको आधिकारिक लेटरप्याड हो । संसदको रेकर्डमा पनि उहाँ एमालेको सांसद रहेको विवरण छ । परिवार दलको अध्यक्ष छँदै एमालेबाट समानुपातिकमा नाम परेपछि नै ढकालसँगै एमालेको आलोचना भएको थियो । अहिले पुनः दुवैलाई विवादमा तानेको छ । एमालेका नेताहरुसमेत यस्तो हर्कतविरुद्ध मुख खोलेर बोल्न सक्दैनन् ।
त्यसो त ढकाल प्रकरणले तत्कालीन संविधानसभामा समानुपातिक सांसद बनाएका राज्यलक्ष्मी गोल्छा र ल्हारक्याल लामालाई फेरि सम्झाएको छ । अनि एमाले विवादितलाई सांसद बनाउन लाग्छ भन्ने आरोपमा बलपुग्ने आधार पनि बनेको छ । राज्यलक्ष्मी गोल्छाले आफूले एमालेलाई करोडौं बुझाएको सार्वजनिक अभिव्यक्ति नै दिनुभएको थियो ।
यस्तै विभिन्न विवादमा मुछिएका ल्हारक्याल लामालाई पनि एमालेले समानुपातिक सांसद बनायो । अझ अहिले टाउको दुखाईको पात्र बनेका छन्, एमाले पूर्वकेन्द्रीय सदस्य दुर्गा प्रसाईँ । प्रसाईँ एकपछि अर्को विवादीत अभिव्यक्ति दिइरहेका छन् । जसले पार्टी र अध्यक्ष केपी शर्मा ओलीको टाउको दुखाइरहेको छ ।
पार्टीमा योगदान दिएका र जनाधार भएकालाई पाखा लगाउने र ओलीलाई परिक्रमा गर्नेहरुको भिडको स्वार्थमा पार्टी फस्दा कार्यकर्ता चाँही रमिते सिवाय केही बन्न सकेका छैनन् । किनकि एमालेमा अध्यक्ष होइन बा को शासन छ र बाको आलोचना गर्नेहरुले सदाका लागि राजनीतिको ढोका बन्द हुने अवस्था छ ।
प्रतिक्रिया