गाजा जल्दा ‘पिकनिक’मा गुटरेस (भिडियो रिपोर्टसहित)
१३ कात्तिक २०८० काठमाडौं । एउटा प्रख्यात भनाइ छ, रोम जलिरहँदा निरो आरामसँग बाँसुरी बजाइरहेको थिए । अहिले यो भनाइ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग मेल खान्छ । इजरायल र हमासबीच द्वन्द्व चर्किरहँदा गुटेरेस चार दिने नेपाल भ्रमणमा हुनुहुन्छ ।
आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनको तयारीका लागि गुटेरेस नेपाल भ्रमणमा रहेपनि उहाँ विश्वमा देखिएको समस्या समाधान गर्ने भन्दा पनि नेपालको शान्ति प्रक्रियामा चासो राख्न बढी केन्द्रित देखिनुभयो ।
सेतो धर्के सर्ट, हरियो स्वेटर र कालो कोट अनि खुम्चियोको प्यान्ट लाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार राति १ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभयो । गुटेरेसको पोषाकबाट उहाँ औपचारिक भन्दा अनौपचारिक भ्रमणका लागि नेपाल आए जस्तो देखिन्थ्यो । विशिष्ट व्यक्तिसँगको भेटमा औपचारिक पोषाकमा देखिनुभएका गुटेरेसले आइतबार दिनभर राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री र राजनीतिक दलका नेतासँग शिष्टाचार भेट गर्नुभयो । र, यो भ्रमणमा संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको भ्रमणको एजेन्डा भन्दा फरक थियो ।
राष्ट्रसंघले गुटेरेसको भ्रमण आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म दुबईमा हुने जलवायु सम्मेलनको तयारीको रूपमा नेपालमा यसले पारेको असरकाबारेमा स्थलगत अवलोकनमा केन्द्रित रहने जनाएको थियो । तर, आइतबार भने दलहरुसँगको भेटम गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंग्याउन भूमिका खेल्ने प्रतिबद्धता मात्रै जनाउनुभएन यसलाई टुंग्याउन तीन सुझाव समेत सरकारलाई दिनुभयो ।
नेपालको आन्तरिक विषयमा प्रवेश गर्न खोजेर गुटेरेसले भ्रमणको एजेन्डा एउटा भएपनि अर्कै प्रसंग कोट्याएर यो भ्रमणलाई कुबेलाको भ्रमणको संज्ञा दिनुभयो । इजरायल–हमास युद्ध, रुस–युक्रेन युद्ध चलिरहँदा विश्वमा शान्ति छैन । हजारौँ नबालकको हत्या भएको परिप्रेक्षमा गुटेरेसले नेपालबाट भने इजरायललाई द्वन्द्व रोक्न अपिल भने गर्नुभयो । तर, यो बेलामा नेपाल भ्रमणमा भन्दा पनि उहाँको ध्यान इजरायल र प्यालेस्टाइनीका पदाधिकारीसँग छलफल गरेर युद्धविराम गर्ने तर्फ बढी केन्द्रित हुनुपर्ने थियो । तर, त्यसो भएन ।
सोमबार बिहान सगरमाथाको बेस क्याम्प पुगेर जलवायु परिवर्तनले पारेको असरको अवलम्बन गर्नुभएका गुटेरेसले नेपाल आउनुको सार्थकता देखाउनु त भयो ।तर, एक महिनापछि हुने सम्मेलनको तयारीका लागि अहिले नेपाल आउनुको तुक भने देखिँदैन । प्रयोजनविहीन भ्रमण भएपनि नेपालले भने यसलाई सदुपयोग गर्न चुकेको छ । अतिकम विकसित देशको प्रतिनिधित्व गर्दै राष्ट्रसंघमा सम्बोधन गर्दा जलवायुको असरबारे दिएको वक्तव्यले मोहित भएको दावी गर्ने प्रधानमन्त्री र सरकारले गुटेरेसको भ्रमणका दौरान यसको असरबारे जानकारी गराउन सकेका छैनन् ।
नेपाल कम कार्बन उत्सर्जन गर्ने, तर जलवायु परिर्वतनको सबभन्दा बढी मार खेप्ने मुलुकमध्ये एक हो । जलवायु परिर्वतनकै कारण हिमालमा हिउँको मात्रा कम हुँदै गएको छ भने पानी पर्ने क्रम घटबढ भएको छ, बाढी पहिरो जस्ता समस्या बढेको छ । जानकारहरुका अनुसार कोप २८ को तयारीकै लागि राष्ट्रसंघका महासचिव नेपाल आएका बेला जलवायु परिर्वतनले पारेको प्रभाव र क्षतिपूर्तिको मुद्दा प्राथमिक हुनुपथ्र्यो ।
राजनीतिक दलका प्रमुख नेताहरूले नेपालले भोगिरहेको समस्यालाई एकमतले सुनाउन सक्थे । तर राष्ट्रसंघका महासचिव गुटेरेससँग भएको भेटका क्रममा मुद्दा औपचारिकतामा सीमित भयो । फितलो तयारी र विदेशी पाहुनालाई स्वागत गर्नमै मख्ख हुँदा ठूलो अवसरबाट नेपाल चुकेको विज्ञले टिप्पणी गरेका छन् ।
समयानुकुल भ्रमण भएरनभएको प्रश्नको घेराबीच भइरहेको भ्रमणले शान्ति प्रक्रियामा विदेशीको हस्तक्षेपलाई निमन्त्रणा दिने दुष्प्रयास सरकारले फेरि गरेको छ । त्यसमाथि पाहुनाको अगाडि घरझगडालाई सतहमा ल्याउने काम दलहरुले गरे । र, गुटेरेसले पनि इजरायल–हमास द्वन्द्वबाट आजित भएर नेपालका पर्यटकीय गन्तव्यको भ्रमण गरे जस्तो देखिएको छ । त्यसैले त फेरि एकपटक रोम जलिरहँदा निरो सुख र चैनले आरामसँग बाँसुरी बजाइरहेको थिए भन्ने प्रख्यात भनाइ गुटेरेसको भ्रमणमा चर्चित बन्न पुगेको छ ।
प्रतिक्रिया