गुटरेसको स्वागतमा लुम्बिनीमा रातारात सडक पिच, हतारको काम लतरपतर (भिडियो रिपोर्टसहित)
१३ कात्तिक २०८० रुपन्देही । जबजब विदेशी पाहुना आउँछन् तब तब मात्रै हतारमा विकास गर्ने नेपाली प्रवृत्ति यो पटक लुम्बिनीमा देखिएको छ ।
हरेक दिन हजारौ पर्यटक आउजाउ गर्ने लुम्बिनीको विकास र सफाईमा लाखौँ खर्च हुने गर्दछ । तर मंगलबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस डेढ घण्टा मात्रै लुम्बिनमा रहने भएपनि सडक रंगरोगनदेखि सरसफाई गरिएको छ।
संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसलाई लुम्बिनीमा स्वागत गर आउने भएपछि सडक कालोपत्र गर्दै हतारहतार तयारी थालिएको छ । मंगलबार बिहान डेढ घण्टाका लागि आउने गुटेरेसका लागि ४ नम्बर गेटदेखि शान्तिदीपसम्म ६ सय ५० मिटर बाटो कालोपत्र गरिँदैछ ।
दुईरतीन दिनदेखि रातदिन २४ सैं घण्टा काम गरेर बाटो कालोपत्रे गरिँदैछ । बाटोका खल्टाखुल्टी पुरिएको छ । अन्य बाटो पनि पानी हालेर धुलो नउड्ने बनाइएको छ । ४ वटा हेलिप्याडको सरसफाइ गरेर रंगरोगन गरिएको छ । गुटेरेस मंगलबार बिहान लुम्बिनी आउने कार्यक्रम तय भएको छ ।
महासचिव गुटेरेसले करिब डेढ घण्टा लुम्बिनीमा बिताउने कार्यक्रम तय गरिएको छ । डेढ घण्टाको अवधिमा लुम्बिनीस्थित मायादेवी मन्दिरमा विशेष पूजाआजा गर्नुका साथै अशोक स्तम्भ अघिबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक महत्वका विषयमा वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले जानकारी दिनुहुने कार्यक्रम तय भएको कोषले जनाएको छ । गुटरेसलाई हेलिप्याडबाट गाडीबाट चार नम्बर गेट हुँदै शान्तिदीपमा लगिनेछ ।
गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि पिपलको रुखमुनी छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको छ । महासचिव गुटरेसले लुम्बिनीमा सालको रुख बृक्षारोपण गर्नुहुनेछ। नेपाली सेनाले सुरक्षाको प्रबन्ध गरेको छ । महासचिवको सुरक्षाका लागि सुरक्षा समितिको बैठक बसेर आवश्यक सुरक्षा रणनीतिहरु तय गरिएको छ । गुटेरेसको सुरक्षाका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुम्बिनीसम्मको आवश्यक सुरक्षा व्यवस्था बलियो बनाइएको छ ।
संयुक्त राष्ट्र संघबाट लुम्बिनीमा हुने यो भ्रमण छैटौं हो । सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गर्नुभएको थियो । यद्यपि महासचिवका रुपमा भने भ्रमण भएको थिएन । तर, पनि उहाँ सहित गुटरेससम्म आइपुग्दा ६ जना महासचिवले बुद्ध जन्मस्थल लुम्बिनीमा पाईला टेक्नेछन ।
संयुक्त राष्ट्रसंघका महासचिवहरु ड्याग ह्यामसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहिमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ मार्चमा र सन् २००८ नोभेम्बरमा बान की मुनले लुम्बिनीको भ्रमण गरेका थिए । संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्त्वपूर्ण रूपमा लिइन्छ। संयुक्त राष्ट्रसंघका महासचिवका रुपमा ऊ थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको विश्वव्यापी प्रचार भएको थियो ।
प्रतिक्रिया