अपी हिमाल ‘भर्जिन टुरिजम’ गन्तव्य (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १३ गते १६:१४
अपी हिमाल ‘भर्जिन टुरिजम’ गन्तव्य (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०८० दार्चुला । दार्चुला जिल्लास्थित सुदूरपश्चिम प्रदेशकै अग्लो अपी हिमाल क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि अपी हिमाल गाउँपालिकाले भ्रमण वर्ष मनाइरहेको छ ।

बाह्रै महिना पर्यटनको प्रचुर सम्भावना बोकेको अपी क्षेत्र पर्यटन व्यवसायीको नजरमा भर्जिन टुरिज्म डेस्टिनेसनको रूपमा रहेको छ ।

७ हजार १३२ मिटर उचाइको अपी हिमालको बेस क्याम्पसम्म पुग्न मात्रै धनगढीदेखि एक दिन गाडी र दुई दिन पैदल यात्रा गर्नुपर्छ । मनोरम दृश्य, मल्देशी कला संस्कृति, आतिथ्य सत्कार र पारिवारिक वातावरणका कारण अपी हिमाल पर्यटकको रोजाइमा पर्ने अपेक्षा गरिएको छ । यहाँ आउने पर्यटकलाई स्थानीय पहिरन तथा नाच देखाउने गरिएको छ ।

अपी हिमाल आरोहण खुलाएर प्रदेशकै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको अपी हिमाल गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण गरेको छ । २०७९ मा अपी हिमाल भ्रमण सप्ताह मनाएको गाउँपालिकाले अहिले देश विदेशबाट पर्यटक ल्याउन भ्रमण वर्ष मनाइरहेको छ ।

पहिलो चरणमा प्रचारप्रसार गर्दै भविष्यमा उत्कृष्ट गन्तव्य बनाउने ध्येय गाउँपालिकाले लिएको छ । होमस्टे तालिम तथा पर्यटक पथप्रदर्शकका लागि ३० जनालाई टुरिस्ट गाइड तालिम दिइएको छ । अपी हिमाल भ्रमणको बाटोमा पर्ने बस्तीहरुमा पर्यटकहरुको सजिलोका लागि होमस्टे संचालन हुदै छन् ।

अपी नाम्पासंरक्षण क्षेत्रभित्र हिउँ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, साधारण चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, ब्वाँसो, लङ्गुर, थारलगायत २५ प्रकारका स्तनधारी जनावर पाइन्छ । डाँफे, मोना, चील, च्याखुरालगायत २४३ प्रजातिका चराचुरुङ्गी पाइने गरेको छ । यीनै जीवजन्तु र चराचुरुङ्गी हेर्न पनि विदेशी पर्यटक पछिल्लो समय संरक्षण क्षेत्रको अपी हिमालतर्फ पदयात्रा गर्न मन पराउने गरेका छन् ।

अपी हिमालसम्म पर्यटक तान्नुका साथै ग्रामीण भेगका समस्या सम्बोधनका लागि प्रदेश सरकारले पनि काम गरिरहेको छ । प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँग सहकार्य गरेर विकासमा हातेमालो गर्ने प्रतिबद्धता जनाएको छ ।

पर्यटनको हिसाबले अपी क्षेत्र अवलोकन तथा आरोहणका लागि ७ रात ८ दिनको प्याकेज उपयुक्त छ । बाह्रै महिना पर्यटनको प्रचुर सम्भावना बोकेको अपी हिमालको प्रचार(प्रसार र पूर्वधार निर्माणमा तीनै तहका सरकारले काम गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *