जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग गर्न राष्ट्रसङ्घ तयार
१३ कात्तिक २०८० काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएका असरसँग लड्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आज बिहान सोलुखुम्बुको खुम्जुङ पुगेका महासचिव गुटेरेसले जलवायु परिवर्तनको मारमा हिमाली क्षेत्र परेको भन्दै असर न्यूनीकरणका लागि सहयोग गर्न राष्ट्रसङ्घ तयार रहेको बताउनुभएको हो ।
उहाँले स्थानीयसँगको अन्तर्क्रियामा विकसित राष्ट्रहरुको नियति विकाशील राष्ट्रहरुले भोग्नु परेको भन्दै दुःख व्यक्त गर्नुभयो । विश्वका ठूला तथा विकसित शक्ति राष्ट्रहरुका कारण वातावरण प्रदूषण भए पनि त्यसको प्रत्यक्ष मारमा भने नेपाल जस्ता साना राष्ट्र परेको महाचिव गुटेरेसको भनाइ थियो ।
स्थानीहरुले हिमालमा हिउँ पग्लिएसँगै हिमाली बस्ती हिमपहिरोको उच्च जोखिममा रहेको बताएका थिए। उनीहरुले सगरमाथाको फोहर सफा गर्ने विषयमा सहयोगका लागि समेत आग्रह गरेका थिए ।
नेपालको चार दिने भ्रमणमा रहेका गुटेरेस आज पोखरा पुगेर भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकन गर्ने कार्यक्रम रहेको छ । महासचिव गुटेरेस भोलि नै लुम्बिनी जानुहुनेछ । लुम्बिनीबाट काठमाडौं फर्केर दिउँसो ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसपछि संसद् परिसरमै उहाँले पत्रकार सम्मेलन गर्नुहुनेछ। महासचिव गुटरेस चार दिने भ्रमण पूरा गरी बुधबार फर्कने कार्यक्रम छ । उहाँले हिजो राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विभिन्न दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो।
प्रतिक्रिया