बिशेष

गुटरेसको नेपाल भ्रमणको सान्दर्भिकतामाथि प्रश्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक १२ गते २०:५६
गुटरेसको नेपाल भ्रमणको सान्दर्भिकतामाथि प्रश्न (भिडियो रिपोर्टसहित)

१२ कात्तिक २०८० काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्रीको निमन्त्रणामा नेपाल आउनुभएका गुटेरेसको स्वागत नेपालले गरिरहे पनि भ्रमण कतिको समय सान्दर्भिक हो भन्ने प्रश्न उब्जिएको छ ।

इजरायल–हमास द्वन्द्व र हजारौँको मृत्यु भइरहँदा गुटेरेस नेपाल भ्रमणमा रहनु कुटनीतिक मामिलाका जानकार जायज मान्दैनन् । यही द्वन्द्वमा १० नेपालीले अकालमा ज्यान गुमाएको परिप्रेक्षमा युद्ध रोक्न भूमिका निर्वाह गर्नुपर्ने व्यक्ति नेपालमा प्रयोजनविहीन आएको टिप्पणी भइरहेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई केही समयअघि इजरायल र हमासबीचको द्वन्द्व रोक्न असफल भएको आरोप लाग्यो । संयुक्त राष्ट्रसंघको हालै बसेको महासभामा युद्ध रोक्ने प्रस्तावमा भएको मतदानमा १ सय २० राष्ट्र पक्षमा त उभिए तर भिटो राष्ट्रहरुलाई नै एकमत बनाउन महासचिव गुटेरेस असफल हुनुभयो ।

अमेरिका विपक्षमा उभिदा बेलायत तटस्थ बसिदियो भने बाँकी चीन, फ्रान्स र रुस पक्षमा उभिए । यो प्रस्तावमा इजरायल आक्रामक बन्यो । प्यालेस्टाइनको समर्थन गरेको भन्दै इजरायलले गुटेरेस र संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई इजरायल भ्रमणमा रोक लगाउने निर्णय नै गरिदियो । अर्थात्, अहिले इजरायल–हमास द्वन्द्वले राष्ट्रसंघ विवादमा तानिएको छ । १९४५ मा स्थापना भएको राष्ट्रसंघ युद्धलाई शान्तिमा परिणत गर्न गठन भएपनि शक्ति राष्ट्रको चेपुवामा पर्दा राष्ट्रसंघले कहिले पनि आफ्नो स्थापनाको उपस्थिति दर्साउन सकेको छैन । यो पटक गुटेरेसलाई यो मौका थियो । तर, विवादमा रहिरहँदा उहाँ आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा काठमाडौँ अवतरण हुनुभयो ।

गुटेरेसको उपस्थितिले विश्वको ध्यान नेपालमा पक्कै तानिएको छ । तर, गुटेरेस नेपाल आउनु कति सान्दर्भिक भन्ने प्रश्न भने उब्जिएको छ । परराष्ट्र मन्त्रालयले गुटेरेसको भ्रमण सरकारकै निमन्त्रणामा भएको जानकारी गराइरहँदा द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्नुको सट्टा नेपाल आएकोप्रति अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने टिप्पणी गरिरहेका छन् । तर, महासचिव गुटेरेस राष्ट्रपति, प्रधानमन्त्री, नेताहरुसँग भेटघाटमा ब्यस्त हुनुहुन्छ । बरु नेपालबाट गाजामा बन्धक बनाइएका सबैको रिहाईका लागि गुटेरेसले जोड दिनुभयो । र नेपाली भूमिबाट गाजाका २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएकाले तत्काल युद्धविराम गर्न अपिल गर्नुभयो ।

नेपाली भूमिबाट दिइएको यो अभिव्यक्तिले कुटनीतिक रूपमा ठूलो अर्थ पक्कै राख्छ । पश्चिम एसियाको तनाव कम गर्ने प्रयास स्वरुप काठमाडौं आउन दोहालाई ुट्रान्जिटु बनाएको आशयमा अभिव्यक्ति दिएका महासचिव द्वन्द्वबाट भाग्ने नखोजेको सन्देश दिन चाहनुहुन्छ । तर, संशय चाहिँ कतै गुटेरेस विश्वमा देखिएको युद्धको सन्देशबाट भाग्न खोजेका त होइनन् भन्ने हो ।

किनभने कतार स्वभाविक भएपनि नेपाल कसरी जोडिएला रु पश्चिम एसियाको तनाव कम गर्न नेपाल प्रभावशाली होइन । यो द्वन्द्वमा नेपाल जोडिने भनेको आफ्ना १० नागरिकको मृत्यु मात्र हो । अहिलेसम्म पाँचको शव ल्याइएको छ भने अझै ५ जनाको शव ल्याउन बाँकी छ । सयौँ विस्थापित र हजारौँको हत्या भइरहँदा पनि मौन रहने र समाधानको उपाय नअपनाउने व्यक्तिको नेपाल भ्रमण प्रयोजनविहीन भएको राजनीतिक दलका नेताले नै टिप्पणी गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री कमल थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ । खासमा यतिबेला गुटेरेस नेपाल होइन, इजरायली र प्यालेस्टाइनी पदाधिकारीसँग छलफल गरेर विवादलाई समाधान उन्मुख बनाउनुपर्ने थियो । उहाँ आफूमाथि लागेको आरोप खण्डन गर्ने मात्र नभई इजरायलीलाई पनि राष्ट्रसंघको आभास दिनुपथ्र्यो । नेपालले पनि यो बेलामा गुटेरेसको भ्रमणलाई स्थगित गरेर नेपाल पनि युद्धको विपक्षमा भएको अर्थ जनाउँदै राष्ट्रसंघलाई द्वन्द्व रोक्न सुझाव दिनुपथ्र्यो । कुबेलाको नेपाल भ्रमण भएपनि गुटेरेसलाई नेपालमा न्यानो स्वागत ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *