Main News

२०८४ मा सबै दललाई बाइबाई गर्ने रविको योजना, के छ आधार ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक १२ गते २०:४०
२०८४ मा सबै दललाई बाइबाई गर्ने रविको योजना, के छ आधार ? (भिडियो रिपोर्टसहित)

१२ कात्तिक २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी २०८४ को निर्वाचनमा पुराना पार्टीहरुलाई एक सिट पनि नदिइ बिदा गर्ने उद्घोष गर्नुभएको छ ।

उहाँको अभिव्यक्ति स्ववभाविक रुपमा राजनीतिक भाषण भए पनि निर्वाचनमा लामिछानेको पार्टीले पुरै २ सय ७५ सिट जित्ने आधार भने तयार भएको देखिँदेन । के लामिछाने पनि राजनीति गर्न थालेपछि स्वैरकाल्पनिकतामा हराउन थाल्नु भएको हो ?

पहिले एउटा उदाहरण स्मरण गरौँ ।
२०७३ फागुनमा बीबीसी नेपाली सेवाको प्रमुख पद छोडेर रविन्द्र मिश्र राजनीतिमा होमिनु भयो । साझा पार्टी खोल्नुअघि उहाँले विज्ञप्ति निकालेर आफूले नयाँ पार्टी खोल्न लागेको, त्यो अबको वैकल्पिक शक्ति हुने र त्यसले देशमा आमूल परिवर्तन ल्याउने घोषणा गर्नुभयो ।

नेताहरुलाई प्रश्नले र्‍याखर्‍याख्ती पारेर लोकप्रिय बनेका मिश्र राजनीतिमा आउनुअघि नै रेडियोको लोकप्रियताको आडमा कोष खडा गरी समाज सेवामा समेत हुनुहुन्थ्यो । प्रश्नका माध्यमबाट नेताहरुलाई जिम्मेवार बनाउने प्रयास गरेका र आम रुपमा निराशामा रहेका नागरिकको मन जित्न सफल भएका मिश्रले पार्टी खोल्दा आफ्नो पार्टी गणतन्त्रवादी हुने बताउनु भएको थियो । एक अन्तवार्तामा उहाँले आफ्नो पार्टी सेन्टर(लेफ्ट अर्थात् कम्युनिष्टतिर केही झुकाव रहने बताउनु भएको थियो ।

मिश्रले केही पुरानै पार्टीतिरका मान्छे तानेर र केही नयाँ क्षेत्रतिरका मान्छे छानेर साझा पार्टी गठन गर्नुभयो ।

पछि विवेकशील दल र साझा पार्टीबी एकता भएपछि फुट्दै र जुट्दै गरेर उहाँको वैकल्पिक शक्ति आफ्नै विकल्प खोज्ने ठाउँमा पुग्यो । पार्टीको बैठकमा संघीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमत संग्रह गर्ने प्रस्तावसहितको दस्ताबेज पेश गरेपछि जुटेर, फुटेर र फेरि जुटेको साझा पार्टी काँचको शिशा जसरी फुट्यो त्यसपछि जोडिन सकेन ।
बीबीसी छोडेको घोषणा गर्दै विज्ञप्ति जारी गर्दा नै मिश्रले अब ठूलो शक्ति बनेर संसदमा प्रवेश गर्ने बताउनु भएको थियो ।

उहाँको भनाइ थियो, ‘हामीले सुरु गर्न लागेको यो यात्रा केबल १०र१२ जनालाई संसद पठाएर राजनीति गर्न होइन । यो देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रुपान्तरण गर्नका लागि हो ।’

कुनै अन्तर्वार्तामा आफूलाई सेन्टर लेफ्ट भनेका, कुनै अन्तर्वार्तामा आफूलाई अहिलेका कम्युनिष्ट भन्दा आफू नै चर्को कम्युनिष्ट हुँ भनेका र संसद कब्जै गर्ने घोषणा गरेका मिश्र अहिले राप्रपामा पुगेर थन्किनु भएको छ र गणतन्त्रात्मक मुलुकका राष्ट्रप्रमुखलाई बहिस्कार गरौँ, पूर्वराजाकै पाउमा लम्पसार परौँ भन्दै हिँड्नु भएको छ ।

राजनीतिमा चुनाव जित्छौं, अरुलाई पराजित गर्छौं भन्नु खास नौलो कुरा पनि होइन र संविधानले नै अभिव्यक्ति स्वतन्त्रताको हक सुरक्षित गरेकै छ । तर कतिपय अभिव्यक्तहरु हद बढीको स्वैरकाल्पनिक हुँदा, हाँसोको पात्र बन्नुपर्छ । मिश्रको जस्तै लोकप्रिय सञ्चारकर्मीको छबिमा राजनीतिक दलको जग बसालेका लामिछानेले दल खोलेको पहिलो निर्वाचनमै गज्जबको नतिजा निकाल्नु भएकै हो । तर २ सय ७५ सदस्यीय प्रतिनिधिसभाको २० सिटे पार्टी पहिलो लटमै सरकारमा जान हतार गर्यो ।

सरकारमा गएरै नागरिकको काम गर्न सकिन्छ, यो स्थापित सत्य पनि हो । तर सिट संख्याका आधारमा हेर्ने हो भने यो पार्टी किनाराको साक्षी बाहेक केही बन्न सक्दैन, त्यसैले सरकारमा जानु राम्रो होइन भन्ने तमाम शुभेच्छा लत्याउँदै लामिछाने सरकारमा जानु भयो । अन्ततः आफ्नो नागरिकता प्रकरणले सरकार र सांसद पद दुवै गुमे ।
यतिबेला २०८४ को निर्वाचनका लागि ठूलै सपना देखिरहेका लामिछानेमाथि आम रुपमा स्वभाविक रुपमा उठ्ने प्रश्न नै तपाईँका प्रतिबद्धताहरु पूरा भए त भन्ने नै हो ।

विदेश भासिएका कति युवा नेपाल फर्किएर रोजगारी गर्दैछन् ? चितवनमा सुरु भएको निलो बस अरु २० सांसदको क्षेत्रमा विस्तार भयो कि भएन ? संसदमा तपाईँहरुले दर्ता गरेको जरुरी सार्वजनिक महत्वका प्रस्तावले कति मूर्त पायो कि पाएन ? तपाईँका पार्टीका कोर टिमका सदस्यलाई बात लगाउँदै फेसबुकमा थर्काइरहेका पूर्वसांसदमाथि कारबाही भयो कि भएन ? यी केही आम प्रश्न हुन् ।
वैकल्पिक पार्टीहरु आउनु, मुलुकलाई समृद्धितर्फ लैजानु, बढ्दो निराशाकाबीच आशाको सञ्चार गराउनु राम्रो हो । पुरानाहरुले राम्रो गरेकै छैनन्, के ललितपुरको गल्लीभित्र आयोजित भेलामा बोलेजस्तै सजिलो छ वर्षौँदेखि जरा गाडेका, विभिन्न परिवर्तनका लागि लडेका र अहिले पनि प्राप्त राजनीतिक उपलब्धिहरु संस्थागत हुनुपर्छ भन्ने कुरामा एकमत रहेका पुराना दलहरुलाई एक सिट पनि नदिएर बिदा गर्न ? मनको लड्डुले भरिन्छ पेट ? मेटिन्छ भोक ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *