धादिङ केन्द्रविन्दु भएर शक्तिशाली भूकम्पको धक्का
५ कात्तिक २०८० धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाको खरी केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।
बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट केही घरहरु चर्किएको र एक ठाउँमा पहिलो गएको धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्ष यामबहादुर दनैले जानकारी दिनुभयो ।
उहाँले भूकम्पबाट कुनै मानवीय क्षति भएको खबर नआएको बताउनुभयो । दशैंको रमझममा रहेका मानिसहरु भूकम्प आउँदा त्रसित भएका थिए ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित गोरखा, नुवाकोट, कास्कीसहित विभिन्न जिल्लाहरूमा महशुस गरिएको थियो । केन्द्रका अनुसार त्यसयता लगातार स–साना परकम्पहरू गइरहेका छन् ।
बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै ८ बजेर २८ मिनेट जाँदा धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ४ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
८ बजेर ५९ मिनेट जाँदा धादिङ नै केन्द्रविन्दु भएर ४ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ । ठूलो भूकम्प गएपछि स–साना परकम्प जानु नियमित प्रक्रिया भएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया