राप्ती राजमार्गमा कालमार्गको पर्याय (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक ३ गते १७:४७
राप्ती राजमार्गमा कालमार्गको पर्याय (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०८० दाङ । दाङबाट पहाडी क्षेत्र जोड्ने राप्ती राजमार्गमा प्राय दैनिक जसो सवारी दुर्घटना हुन्छ । दाङ, सल्यान हुँदै रोल्पा, रूकुम जोड्ने यो राजमार्ग कालमार्गको पर्याय बनेको छ ।

पछिल्लो १४ महिनामा मात्रै यो सडकमा सानाठूला गरी ५४ वटा दुर्घटना भएका छन् । जसमा १५ जनाले ज्यान गुमाइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्गको सल्यान खण्डमा चालु आर्थिक वर्षको साउनयता ३३ वटा सवारीसाधन दुर्घटना भएका छन्। जसमा १५ जनाले ज्यान गुमाए । साँघुरो र खाल्टाखुल्टी भएको सडक, क्षमताभन्दा धेरै भार बोक्ने सवारी साधन र चालकको लापरवाही जस्ता कारणले राप्ती राजमार्गमा दुर्घटना बढिरहेको छ ।

२०७५ साल पुसमा दाङबाट शैक्षिक भ्रमणमा गएका कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक सवार गाडी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । त्यसयता यहाँ दैनिकजसो दुर्घटना भइरहेका छन् ।

प्रहरी तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा सल्यानतर्फमात्रै ७७ जनाको मृत्यु भएको छ भने १०४ जना गम्भीर घाइते भएका छन्। ५२७ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ। ४ वर्षको समयावधिमा ३७७ वटा साना, ठूला सवारी साधन दुर्घटनामा परेका छन्।

दैनिकजसो ठूला दुर्घटना भइरहँदा पनि दुर्घटनाका विषयमा सरकार र सरोकारवाला सबै बेखबर जस्तै छन्। दुर्घटना न्यूनिकरणको कुनै प्रयास भएको छैन ।

राप्ती राजमार्ग मर्मतका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरे पनि काम हुन नसक्दा सडकको अवस्था सुधार हुन सकेको छैन । यसमा ठेकेदारको लापरवाही र ठेक्का लगाउने कार्यालयको गैरजिम्मेवारी प्रमुख कारण रहेको नागरिकको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *