पोखरा विमानस्थललाई बीआरआई जोडिँदा ‘अभिशाप’, घाटामा विमानस्थल(भिडियो रिपोर्टसहित)
१ कात्तिक २०८० कास्की । पर्यटकीय नगरी पोखराको अन्नपूर्ण हिमशृंखलाको आँगनमै बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको पर्यटन प्रवद्र्धनमा कोशेढुंगा बन्ने अपेक्षा गरिएको थियो ।
तर, २०२३ जनवरी १ मा उद्घाटन गर्दै गर्दा नेपालका लागि चिनियाँ राजदूतले विमानस्थल चिनियाँ परियोजना बिआरआई अन्तर्गत बनेको बताएसँगै विमानस्थल चार्टड उडानमा सीमित भएको छ । बेलाबेला चीन र अन्य देशले चार्टड उडान गर्दा ऋण लिएर बनाइएको विमानस्थलको कमाई छैन भने अहिले पनि घाटामा चलिरहेको छ ।
असार ६ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुुबाट पोखरा आएको पहिलो सिचुुआन एयरलाइन्सको चार्टर उडान अवतरण भएपछि आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङले विमानस्थल बिआरआई परियोजनाअन्तर्गत निर्माण भएको बताउनुभएको थियो । यसअघि विमानस्थलको उद्घाटन भएको दिन राजदूतले सोही दावी गर्नुभयो ।
नेपालमा बीआरआई कार्यान्वयनमा गएको गर्वसाथ दावी गर्न चीन सफल भएपनि यो अभिव्यक्ति विमानस्थलका लागि अभिशाप बन्यो । चीनले बनाएको विमानस्थल भन्दै भारतले उडान अनुमति दिएको छैन । न त विमान नै यो विमानस्थलबाट उडाएको छ । नेपालमा धेरै पर्यटक भित्रिने देश भारत नै तयार नहुँदा यसको प्रत्यक्ष असर विमानस्थलमा परेको छ ।
विमानस्थल बनाउन झन्डै २२ अर्ब रूपैयाँ चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ एक्जिम बैंकबाट ऋण लिइएको थियो । जसमध्ये २५ प्रतिशत रकममा ब्याज नलाग्ने सम्झौता छ । बाँकी ७५ प्रतिशत रकम करिब साढे २१ अर्बमा भने २ प्रतिशत ब्याज तिर्नुपर्छ । तर, विमानस्थल सञ्चालनमा आएदेखि अहिलेसम्म मात्रै आम्दानी भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी भदौबाट ब्याज तिर्न सुरु गर्नुपर्छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नभएकाले आम्दानीका आधारमा ऋणको ब्याज तिर्न कठिन हुने देखिएको छ । चिनियाँ पक्षको दावीले बीआरआई परियोजनालाई लिएर नै शंका उब्जिएको छ । तर, नेपालले पठाएको ९ वटा परियोजनामा भने विमानस्थल निर्माणको विषय समावेश छैन ।
नेपालले पठाएका ९ परियोजनाः
१. रसुवागढी–काठमाडौं सडक स्तरोन्नति
२. किमाथाङ्का–हिले सडक निर्माण
३. दीपायलबाट चिनियाँ नाकासम्मको सडक
४. टनेलसहितको टोखा–विदुर सडक
५. गल्छी–रसुवागढी–केरुङ ४०० केभी ट्रान्समिसन लाइन
६. केरुङ–काठमाडौं रेल्वे सम्भाव्यता अध्ययन
७. ७६२ केभीको तमोर हाइड्रो परियोजना
८. ४२६ केभीको फुकोट कर्णाली हाइड्रो परियोजना
९. मदन भण्डारी विश्वविद्यालय
समावेश नै नभएको विषयलाई लिएर चिनियाँ पक्षले यो विमानस्थल बीआरआई अन्तर्गत राख्यो प्रश्न अनुत्तरित छ । सरकारले विमानस्थलसँग बीआरआईको कुनै किसिमको साइनो नभएको बताउँदै आएको छ । तर, भारत लगायत युरोपियन मुलुकलाई भने आश्वास्त पार्न सकेको छैन ।
यसबारेमा जवाफ कोहीसँग छैन । सम्झौता पत्रमा के छ भन्ने कुरा अहिलेसम्म गोप्य छ । यसअघि नै परराष्ट्र मामिलाका जानकारले विकास आयोजनाको नाम गोप्य राख्नु पनि अनौठो मान्दै आएका थिए । तर, चिनियाँ पक्षको दावीले गोप्य राख्नुलाई झन् शंकास्पद बनाइदिएको छ ।
जनवरी १ देखि आन्तरिकतर्फ ठुला आकारका जहाज उडान र अवतरण अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको छ । विमानस्थल आम्दानीको करिब ७५ प्रतिशत हिस्सा यात्रु सेवा शुल्क हो । बाँकी आम्दानी हवाई कम्पनीले ल्यान्डिङ, टेकअफ, सञ्चार, पार्किङ गरेबापत तिर्ने रकम हो । पोखरा विमानस्थल आँफैले सबै खर्च धान्न दैनिक कम्तीमा सय आन्तरिक उडान र हप्तामा कम्तीमा ५० वटा अन्तर्राष्ट्रिय उडान हुनुपर्ने हो । तर, अहिलेसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान नहुँदा नेपालका लागि पोखरा विमानस्थल सेतो हात्ती बन्न पुगेको छ ।
प्रतिक्रिया