सीमामा चहलपहल, प्रहरीले बढायो सक्रियता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक १ गते १७:५९
सीमामा चहलपहल, प्रहरीले बढायो सक्रियता (भिडियो रिपोर्टसहित)

१ कात्तिक २०८० काठमाडौं । घटस्थापनादेखि भारतसँग जोडिएका सीमानाकामा चहलपहल बढेको छ । कामको सिलसिलामा भारत पसेकाहरू दशैं मनाउन घर फर्किन थालेपछि अहिले नाकाहरुमा भीड छ ।

सीमावर्ती बजारबाट किनमेलका लागि भारतीय बजार जानेको संख्या पनि उत्तिकै छ । यसरी घर फर्किनेहरुले समस्या भोग्नु नपरोस भनेर प्रहरीले सीमा क्षेत्रमा सहायता कक्ष संचालन गरेको छ भने विभिन्न सहयोगसमेत गर्ने गरेको छ ।

दशैँ सुरु भएसँगै भारतसँग जोडिएका सीमा नाकामा भीड बढेको छ । कामका लागि भारत गएकाहरु फर्किने र सीमावर्ती बजारमा किनमेलका लागि जानेहरुकी भीड बढेपछि प्रहरीले विभिन्न ठाउँमा सहयता कक्ष सञ्चालन गरी सहयोग गर्न थालेको छ । चाडपर्वको समयमा चोरी तथा ठगीमा पर्ने भएपछि प्रहरीले सक्रियता बढाएको हो ।

यात्रुहरुको सहजताका लागी कैलालीको गौरीफन्टा र मोहना, दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी लगायतका ७ ठाउँमा सहायता कक्ष स्थापना गरिएको छ । त्यस्तै लामो दूरीका सवारी साधनमा २ जना चालक राख्ने मापदण्ड पालना नहुने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने जस्ता गतिविधि नियन्त्रणमासमेत प्रहरीले जोड दिएको छ ।

भारतीय बजारमा सामान सस्तो पाइने हुँदा सीमावर्ती गाउँका धेरैजसो नेपाली भारतीय बजारमै पुग्ने गरेका छन् । तर सामान किनेर फर्किँदा नेपालतर्फ सुरक्षित भए पनि भारततर्फ भने कतिपय ठाउँमा दुःख पाइने गरेको छ । त्यसमाथि कामका लागि भारत गएकाहरु त भारतीय प्रहरीलाई पैसा नबुझाई छिर्नै नपाउने अवस्था बन्ने गरेको छ । खासगरी टनकपुर नाका हुँदै महेन्द्रनगर आउने नेपाली कामदारहरु भारतीय प्रहरीबाट ठगिन्छन् ।

प्रहरीले नेपालतर्फ गरेको सुरक्षा सहायता प्रशंसनीय छ । तर भारततर्फ हुने ठगी र लुटपाटमा भारतीय प्रहरीकै संगलग्नता हुने गरेकाले नेपाल प्रहरीले त्यतातर्फ पनि समन्वय गरिदिए थोरै कमाइ गरेर फर्किने नेपालीहरुले राहत महसुस गर्थे कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *