१ कात्तिक २०८० काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ ।
कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गर्नुभएको हो । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत पर्यो भने विपक्षमा ५ जनामात्रै रहे ।
राप्रपाका एक सांसद अनुपस्थित रहे । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन् ।
कोशीमा एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २८, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाका एकजना सांसद छन् । गत शनिबार कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
कोशीमा शेखर कोइराला पक्षका ८ सांसदले विद्रोह गरेर एमालेसँगको समीकरणमा कार्कीलाई मुख्यमन्त्रीको रूपमा अघि सारिएको थियो । तर, कार्की नियुक्त भएपछि गठबन्धनकै साझा मुख्यमन्त्री भन्दै प्रधानमन्त्री प्रचण्डले घोषणा गर्नुभएको थियो ।
त्यसैले गठबन्धनमा आबद्ध भएका दलहरूले कार्कीलाई मत दिने निर्णय गरेका थिए ।
प्रतिक्रिया