Main News

गरिबलाई चाड-पर्व : खुशीभन्दा पीडा धेरै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज ३० गते २०:५०
गरिबलाई चाड-पर्व : खुशीभन्दा पीडा धेरै (भिडियो रिपोर्टसहित)

३० असोज २०८० काठमाडौं । बडादशैंको रौनकले छपक्कै छोपिसकेको छ । टाढाटाढा घर भएकाहरुको बसपार्कमा लाइन छ ।

उस्तै लाइन किनमेल गर्नेहरुको छ बजारमा । तर निम्न आय भएका र दैनिक ज्यालाको काम गर्ने र दैनिकी गुजार्नेहरुलाई पर्वले जति छोपेको छ उत्तिकै छोपेको छ घर खर्च चलाउने र दशैँ टार्ने खर्चको चिन्ताले ।

आडैको न्यूरोड र विशालबजारमा थेगिनसक्नु भीड छ, किनमेल गर्नेहरुको । दशैंका लागि नयाँ लुगा र मिठामिठा खानेकुरा किन्नेहरुले सडक र गल्लीहरु भरिभराउ छन् । तर छेवैमा रहेको बसन्तपुरमा यात्रु नपाएर थकथकाउँदै हुनुहुन्छ हेटौंडाका ४३ वर्षीय रिक्साचालक सोनम तामाङ ।

मानसिक बिरामी श्रीमतीको हेरचाह र तीन बच्चाको पालनपोषणको जिम्मेवारी काँधमा बोकेका तामाङलाई आजको कमाएको पैसाले साँझ टार्नूछ । भोलिको छाक चलाउन भोलि नै कुद्नु छ बिहानै ।

जीवनका ७३ वसन्त पार गरिसकेका माइला लामाको विवशता पनि उस्तै छ । रिक्सा चलाएर कमाएको पैसाले खर्च चलाउन गाह्रो छ । दशैँमा नयाँ लुगा किन्ने र मिठो खाने चाहना कसरी पूरा हुन सक्छ र ?

८१ वर्षीय वृद्ध इन्द्रबहादुर पौडेल भाडाको ट्याक्सी चलाउनुहुन्छ । श्रीमतिको निधनले विक्षिप्त भएको र अब बाँच्न पुगिसकेछ भन्ने ठानेकै १० वर्ष पूरा भयो । तर बाँचुन्जेल त खानैपर्छ, खान र लाउनलाई कमाउने पर्‍यो । त्यसैले दशैँ आउनु र नआउनुमा खास अर्थ छैन उहाँलाई, त्यसैले दशैँको छुट्टी भन्ने कुरा उहाँले विर्सिसक्नु भयो ।

रिक्सा चालक होस् वा ट्याक्सी चालक, या निर्माण क्षेत्रका मजदुर नै किन नहोस् । अधिकांशलाई चाडपर्वले खुसी भन्दा बढी दबाब र दुःख दिएको छ । सबैतिर महंगी छ, न ज्याला बढेको छ न भाडा । बढेको छ त खाली खाद्यान्न र लत्ता कपडाको मूल्य अनि कोठा भाडा पनि ।

चाडपर्व आउँदा सबैका सन्तान रमाउन खोज्छन् । मजदुर होस वा धनाड्य । तर घट्दो आम्दानी र बढ्दो मूल्य वृद्धिले निम्न आय हुने कयौँ नागरिकलाई पर्वहरुले खुसीभन्दा बढी पडा दिने गरेका छन् ।
यस्तो कुरा सरकारले बुझिदिनु पर्ने होला कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *