बिशेष

भारतको दादागिरीविरुद्ध सधैँ मौन परराष्ट्रमन्त्री साउद, प्रश्न सोध्ने पत्रकारलाई हप्कीदप्की (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज ३० गते २०:४०
भारतको दादागिरीविरुद्ध सधैँ मौन परराष्ट्रमन्त्री साउद, प्रश्न सोध्ने पत्रकारलाई हप्कीदप्की (भिडियो रिपोर्टसहित)

३० असोज २०८० काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूभाग कालापानीमा आएकोबारे कुटनीतिक नोट किन नपठाएको भन्ने प्रश्न सोध्दा हिमालय टेलिभिजनको बुम हुत्याउनुभएका परराष्ट्रमन्त्री एनपी साउद जबजब भारतसँग जोडिएको विषय उठ्छ सँधै मौन रहनुहुन्छ ।

परराष्ट्रमन्त्री भएयता भारतसँग जोडिएको विषयमा साउद सधैँ मौन रहने गरेका साउद सोमबार हिमालय टेलिभिजनसँग अमर्यादित रुपमा प्रस्तुत हुनु भएको हो । विश्वमा देशको प्रतिनिधित्व गर्ने पदमा रहेका व्यक्तिको मौनताले भने उहाँको भूमिका र पदीय गरिमामाथि शंका गर्ने अनेक ठाउँ दिएको छ ।

परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकका लागि भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने तयारीमा हुनुहुन्छ । यो दुईदेशबीचको उच्चस्तरीय राजनीतिक संयन्त्र हो । यो संयन्त्रमै नेपालले आफ्नो अतिक्रमित भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबारे छलफल गर्न सक्छ । तर, परराष्ट्रमन्त्री एनपी साउदलाई यो मतलबै छैन ।

बरु, कसरी भारतलाई खुशी पार्ने र व्यक्तिगत लाभ लिने भन्ने दाउमा मन्त्री साउद देखिनुभएको छ । हामीले साउदलाई कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रवेशबारे सरकारको धारणा मागेका थियौं । उहाँ त चुइक्क बोल्न सक्नुहुन्न । हाम्रो प्रश्नमा उहाँले बुम माइक नै झट्कारेको दृश्य एकपटक हेर्नुहोस् ।

कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रबारे उहाँ बोल्न नसक्ने नेता भएको पटक–पटक प्रमाणीत भएको छ । भारतसँगको सम्बन्ध बलियो बनाउँने दुहाइ दिने एनपी साउदले बैशाख ३ गतेदेखि मन्त्रालय सम्हाले यता संसदले सर्वसम्मत पारित गरेको चुच्चे नक्सालाई अन्तर्राष्ट्रियकरण गर्न कुनै पहल नै गर्नुभएको छैन ।

बरु, अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गरेपनि अन्तर्राष्ट्रियकरण नगरेकाले चीनले आफ्नो नक्सा जारी गर्दा कालापानी क्षेत्र विनाको नेपालको नक्सा समावेश गरेको साउदले तर्क पेश गर्नुभयो । ओलीकै पालामा परराष्ट्रमन्त्री रहेका प्रदीप ज्ञवालीले पनि यो विषयमा जवाफ दिन सक्नुभएको छैन । कतिसम्म भने संयुक्त राष्ट्रसंघमा नेपालको आधिकारिक नक्सा दर्ज गर्नुपर्छ । तर, संसदले पारित गरेको चुच्चे नक्सा अझै दर्ज भएको छैन ।

ठूल्ठूला भाषण गर्ने ओली वा प्रदीप ज्ञवाली कसैले पनि अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको चुच्चे नक्सा पठाएनन् । यहाँ नागरिक अल्मल्याउन मात्र जारी गरेको जस्तो भयो । यही कुरा साउदले आफूमन्त्री भएको ४ महिनापछि गत भदौ १७ गते सम्बन्धित मुलुकलाई चुच्चे नक्साबारे जानकारी नगराएको पाइएको खुलासा गर्नुभयो । तर, मन्त्रीज्यूले अहिलेसम्म पनि कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र नेपालकै हो भन्ने प्रमाणीत नक्सा कुनै मुलुकलाई पठाउनुभएको छैन, नत संयुक्त राष्ट्रसंघमै दर्ता गराउनुभएको छ ।

बरु, उहाँ भन्नुहुन्छ छिमेकीसँगको सीमा विवाद कुटनीतिक माध्यामबाटै समाधान गर्छौं । तर, भारतले नेपालको भूमि अतिक्रमण गरेकोबारे चूँ बोल्न नसक्ने मन्त्री साउदले भारतीय प्रधानमन्त्री मोदी सुरक्षा दस्तासहित गुंजीमा खुलेआम हिड्दा नेपालको प्रतिक्रिया के छ भनेर प्रश्न गर्दा बुम माइक फाल्नुहुन्छ । यो दृश्य फेरि हेर्नुहोस् ।

परराष्ट्रमन्त्री साउदको यो हर्कतले उहाँमा राष्ट्रियता र जमीनप्रति कुनै दायित्व देखिदैन । देखियोस् पनि कसरी अदृश्यशक्तिको आडमा साउद परराष्ट्रमन्त्री जो बन्नुभएको छ । उहाँकी पत्नी ज्योत्सना साउद विश्वहिन्दू महासंघ नेपालकी उपाध्यक्ष हुनुहुन्छ । यतिमात्र होइन, भारतीय हिन्दूवादीहरुसँग उहाँको राम्रै कनेक्सन छ । ज्योत्सना साउद आफैंले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरहरुले पनि उहाँको कनेक्सन भारतको संस्थापन भारतीय जनता पार्टीसँग सम्बद्ध धार्मिक संस्थाहरुसँग छ ।

त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा पनि उहाँकै पहलमा उज्जैनको महाकालेश्वरमा रुद्राक्ष माला चढाइएको ‘ओपन सेक्रेट’ नै छ । उहाँले निरन्तर भारतीय जनता पार्टीका विदेशविभाग प्रमुख विजय चौथाइवालेसँग गर्ने भेटघाटले उहाँहरुको राम्रै दोस्ती रहेको पुष्टि गर्छ । नेपालमा सक्रिय राष्ट्रिय स्वयमसेवक दलका प्रतिनिधिहरुसँगको दैनिक उठबसको त कुरै छाडौं । प्रधानमन्त्री प्रचण्ड निकटका अनुसार पनि यसपटक साउदलाई परराष्ट्रमन्त्री बनाउने कुरै थिएन तर ज्योत्सनाको भारतीय कनेक्सन प्रयोग गरेरै साउदलाई परराष्ट्रमन्त्री बनाइयो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि साउदलाई परराष्ट्रमन्त्रालय दिन नचाहेको चैत अन्तिमसाता चर्चामा थियो । अब भन्नुहोस् साउदले नेपाल–भारत मामिलामा बोल्नुहोला त ? हामीले त सार्वभौम नेपालका परराष्ट्रमन्त्रीलाई हाम्रो भूमिमा भारतीय प्रधानमन्त्री विना जानकारी आएको किन ? सरकारले कुटनीतिक नोट किन पठाएन, विरोध किन गरेन ? भन्दै प्रश्न गरेका थियौं तर, उहाँले त माइक नै फाल्दिनुभयो । फेरि एक पटक हेर्नुहोस् ।

सरकार गैरजिम्मेवार बन्दा प्रधानमन्त्री त बोल्दै–बोल्दैनन् न त प्रतिपक्षी दलहरु नै बोल्छन् । के अहिले सरकार छैन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्