मन्त्री किरातीलाई जहाज किन्न हतारो ? कहाँबाट ल्याउने पैसा, कसरी तिर्ने ऋण ?(भिडियो रिपोर्टसहित)
२९ असोज २०८० काठमाडौं । आधा खर्ब ऋण, भएका जहाज ग्राउण्डेड । गम्भीर आर्थिक संकटमा फसिरहेको नेपाल वायु सेवा निगमलाई थप जहाज किन्न पर्यटनमन्त्री सुदन किराँती दौडधुप गरिरहनुभएको छ ।
कामभन्दा पनि सस्तो लोकप्रियतामा रमाइरहेका मन्त्री किराँती केही दिन अघिसम्म ३ वटा जहाज किन्ने योजना सुनाउँदै आउनु भएकोमा अहिले भने एक वर्षभित्रै १० वटा जहाज किन्ने भन्न थाल्नु भएको छ । ऋणको साँवा ब्याज तिर्न नसेकेको निगमले १० वटा जहाज कुन खर्चले किन्ने होला ? र मन्त्री किराँतीले के आधारमा यस्तो प्रचार गर्दै हुनुहुन्छ ?
नेपाल वायुसेवा निगमको व्यवस्थापन लथालिङ छ। जहाज किन्दा लिएको ४८ अर्ब ऋणको सावाँब्याज तिर्न नसकेर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले थप ऋण लगानी नगर्ने घोषणा गरिसकेका छन् । अहिलेको व्यवस्थापन सुधार नगरेसम्म नयाँ जहाज किन्नै नहुने पूर्वमन्त्रीदेखि महाप्रबन्धकसम्मले सुझाव दिइरहेका छन् । तर व्यवस्थापन सुधार मन्त्री किराँतीको प्राथमिकतामा छैन। उहाँ जहाज किन्न मरिहत्ते गर्दै हुनुहुन्छ । त्यो पनि एक, दुईवटा होइन एकै वर्षमा १० वटा । साँवा ब्याज तिर्न नसेकेको निगमले १० वटा जहाज कहाँबाट किन्छ ?
मन्त्रीको जिम्मेवारी लिएदेखि नै जहाज खरीदमै आँखा लगाएर योजनाबद्ध हिसाबले मन्त्री किराँती लागिरहनु भएको छ। कंगाल बनिसकेको निगमको सुधारमा कुनै चासो नै नदिई सधै जहाज खरिदको मात्र रटान लगाउनुले मन्त्री किराँती कतै जहाज खरिदमा हुने कमिसनको लोभमा त लाग्नु भएको छैन भन्ने प्रश्नसमेत उब्जाएको छ ।
उसै त मन्त्री किराँती जिम्मेवारी सम्हालेदेखि नै कामभन्दा प्रचारमा रमाइ रहनुभएको छ। उहाँले गरेको निर्णय प्रायः विवादमा परिरहेका छन् । मन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै मन्त्रालयमा दानपेटिका राखेर पैसा संकलन थालेका मन्त्री किराँतीले अहिलेसम्म कति चन्दा उठ्यो त्यसको हिसाबकिताव सार्वजनिक गर्नु भएको छैन । पशुपति क्षेत्र विकास कोषको जग्गा व्यक्तिको नाममा गरिदिनु भएको छ भने मारवाणी सेवा समितिले धर्मशालाको नाममा हडपेको सरकारी जग्गा फिर्ता ल्याउने घोषणा गरेर तर थप पहल नै गर्नुभएन ।
आर्थिक लाभमा बिवादित छविका ल्यारक्याल लामालाई लुम्बिनी क्षेत्र विकास कोषको उपाध्यक्षमा नियुक्ती दिनुभयो । दुई दर्जनबढी कार्यकर्ता भर्ती गरेपछि थप भर्तीमा कुरा नमिलेर वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीसँग सिगौरी खेल्दै बस्नुभएको छ।
मन्त्रीका यस्ता गैरजिम्मेवार काम र निर्णयले जहाज खरिद चाँहि हल्ला मात्र हो कि साँच्चै हो भन्ने प्रश्न उब्जिएको छ । त्यसबाहके तारन्तारको रटानले दालमा केही कालो पो छ कि भन्ने पनि टिप्पणी गर्न थालिएको छ । हालको ४८ अर्ब ऋण सबै सम्पत्ति बेच्दा पनि तिर्न नपुग्ने अवस्थामा १० वटा जहाज किन्ने नै हो भने त्यसका लागि कहाँबाट ऋण ल्याउने अनि कसरी तिर्ने ? त्यसको तयारीबारे जानकारी दिनुपर्दैन ? कि पद जाने संकेत पाएर ठूलो गफ लाइरहनु भएको हो ?
प्रतिक्रिया