Main News

कोशी राजनीतिले पुस १० को नियति दोहोरिने चिन्ता एमालेलाई, कांग्रेसमा असन्तुष्टि (भिडियो रिपोर्टसहित)

२०८० असोज २९ गते २०:५७
कोशी राजनीतिले पुस १० को नियति दोहोरिने चिन्ता एमालेलाई, कांग्रेसमा असन्तुष्टि (भिडियो रिपोर्टसहित)

२९ असोज २०८० मोरङ । कोशीको मुख्यमन्त्री भएको एक साता पनि नबित्दै केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने हतारो गर्नुभएको छ । कांग्रेस र गठबन्धनभित्र विद्रोह गरेर एमालेसँग मिल्दै मुख्यमन्त्री बन्नुभएका कार्की अहिले गठबन्धनकै चाहनामा हतारमा मत लिन खोजिरहनुभएको छ ।

कोशीमा उत्पन्न परिस्थिति अन्य प्रदेशमा पनि सर्न सक्ने भन्दै गठबन्धनले एमाले सकरात्मक भएकै बेलामा विश्वासको मत लिएर स्थायी सरकार खोजिरहेको छ । माओवादीले पनि विश्वासको मत दिने भएसँगै कार्कीले विश्वासको मत पाएलगत्तै पुस १० को नियति कोशीमा एमालेले भोग्नुपर्ने चर्चा चुलिएको छ ।

एमाले र सत्ता गठबन्धनले कोशी प्रदेशमा फरक फरक राजनीति गरिरहेका छन् । कांग्रेसभित्र विद्रोह गरेका केदार कार्कीलाई समर्थन गरेर एमालेले गठबन्धन र कांग्रेसभित्र विवाद सतहमा ल्याउन सफल भयो । तर गठबन्धन यो कमजोरी लुकाउने हरसम्भव प्रयास गरिरहेको छ ।

शनिबार मुख्यमन्त्री बनेसँगै बालुवाटारमा कांग्रेसको इतर पक्षको नेतृत्व गरिरहनुभएका शेखर कोइरालासँग गठबन्धनलाई कमजोर बनाउन नदिने सहमतिपत्रमा हस्ताक्षर गर्नुले नै यसलाई पुष्टि गर्छ । त्यसयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रममा कोशीमा एमालेले गर्न खोजेको राजनीति रोकेको दावी गर्नाले कोशीमा फेरि नयाँ खिचडी पाक्दैछ भन्ने छुट्याउन धेरै माथापच्ची गरिरहन जरुरी देखिँदैन ।

गठबन्धनको निर्णय नमानेर एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले राप्रपाबाहेकका सबै दलको विश्वासको मत पाउने सम्भावना छ । कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेको सिङ्गो ३९ सांसद र कांग्रेसका विद्रोही ८ सांसदले समर्थन गर्नुभएको थियो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई दबाबमा राख्नका लागि गठबन्धनका दलहरु कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिन लागेका हुन् ।

यसअघि २०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपासहितको समर्थनमा संघीय सरकारको प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहालले पनि पुस २६ गते विश्वासको मत लिँदा कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपासहितको मत पाउनुभएको थियो । कांग्रेसले विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनमा माओवादीको साथ खोजेको थियो भने एमालेसँगको गठबन्धन तोड्न माओवादीलाई दबाब सिर्जना भएको थियो । अहिले कार्कीलाई त्यही गर्न गठबन्धनले उक्साएको छ । कार्की पनि त्यसका लागि तयार रहेको कुरा आइतबार मुख्यमन्त्रीको रूपमा सपथ लिएपछि दिएको अभिव्यक्तिले बल पुर्‍याएको छ ।

सहमतिको सरकारको कार्ड फ्यालेर कार्कीले आइतबार नै एमालेको चाहना बुझ्ने प्रयत्न गरिसक्नुभएको छ । जसमा एमालेले रेड सिग्नल देखाइदिएको छ ।

गठबन्धनले अपनाउने रणनीति स्पष्ट छ । तर अब कार्की र एमालेले के गर्छ कोशीको भविष्य त्यसमा निर्भर गर्छ । विश्वासको मत लिने भएसँगै सोमबार कांग्रेसले संस्थागत छलफल सुरु गरेको छ । त्यसमाथि आइतबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा कोइरालाले गरेको विद्रोह र दिनको खोजेको सन्देशप्रति असन्तुष्टि जनाउनुलाई अस्वभाविक मान्न सकिँदैन ।

एकातर्फ कोइरालासँग लिखित सहमति गर्ने र अर्को तर्फ पार्टीमा असन्तुष्टि जनाउने क्रम बढ्दै जाँदा शनिवार भएको सहमतिप्रति आशंका र अविश्वास कायमै छ । तर मुख्यमन्त्री कार्कीले गरेको हतारो र गठबन्धनले पाएको धक्काका कारण कोशीमा अब एमाले र सत्ता गठबन्धनबीच प्रतिष्ठाको लडाइ भएको छ । यसमा मुख्यमन्त्री कार्की जसको पक्षमा लाग्नेछन्,जीत उसैको निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *