धादिङमा प्रहरीद्वारा विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

२०८० असोज २१ गते १४:४२
धादिङमा प्रहरीद्वारा विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

२१ असोज २०८० धादिङ । धादिङको विभिन्न ठाउँमा प्रहरीले यात्रु सहायता कक्ष सुरु गरेको छ ।

यात्रुको गुनासो सुन्न र यात्रा सहज बनाउने उद्देश्यले विभिन्न ६ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । नजिकिँदै गरेको दसैँ–तिहारलगायत चाडपर्वलाई लक्षित गरी शनिबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

‘समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैले प्रारम्भिक जानकारी गराउने ठाउँ यात्रु सहायता कक्षा हो । प्रहरी नै सडकमा उत्रिएर यात्रुलाई सहयोग गर्न यो कार्यक्रम ल्याइएको हो । यात्रा गरिरहँदा चोरी भएमा, सवारीसाधनले वृद्धवृद्धा, महिला, अपांगता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा, गन्तव्यमा पुर्‍याउन सवारीले ढिलाइ गरेमा जस्ता समस्या समाधान गर्न यात्रु सहायता कक्षाले सहयोग पुर्‍याउनेछ,’ उहाँले भन्नुभयो ।

सदरमुकाम धादिङबेँसी, गल्छी, गजुरी, महादेवबेशी , जोगीमारा र खानीखोलामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ‘एसपी मिश्रले भन्नुभयो, ‘हामी सबैको चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना भन्ने मूल नाराका साथ यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।

जिल्लामा भएको जनशक्तिबाहेक प्रदेश प्रहरी कार्यालयबाट ६५ जना जनशक्ति ल्याइसकेको छ । दसैँ–तिहार यात्रु सहायता कक्षालगायत अन्य विभिन्न क्षेत्रमा उनीहरूलाई परिचालन गरिनेछ । त्यससँगै, प्रहरीले सेफ्टी पिन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *