बिशेष

एमाले महासचिवको गिर्दो शाख : प्रदेश अधिवेशनमा कमजोर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १७ गते २०:५४
एमाले महासचिवको गिर्दो शाख : प्रदेश अधिवेशनमा कमजोर (भिडियो रिपोर्टसहित)

१७ असोज २०८० काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलको साख र लोकप्रियता दुवै निरन्तर घट्दो छ । अध्यक्ष केपी शर्मा ओलीका उत्तराधिकारीका रुपमा चर्चा चलाइएका महासचिव पोखरेल प्रदेश कमिटी अधिवेशनबाट थप कमजोर देखिनुभएको छ ।

नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका पोखरेललाई दशौं महाधिवेशनमा अध्यक्ष ओलीले ‘टिके महासचिव’ बाइदिए पनि पदलाई न्याय गर्न नसकेको गुनासो कार्यकर्ताबाटै आइरहेको छ ।

नेकपा एमालेले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा अधिवेशन सकेको छ । गण्डकी प्रदेशमा जारी छ । लुम्बिनीबाट सुरु भएको प्रदेश अधिवेशनमा अध्यक्ष ओली र महासचिव शंकर पोखरेललाई झड्का लाग्यो । उपाध्यक्ष विष्णु पौडेल निकटले प्रदेश अध्यक्षको चुनाव जिते । कर्णालीमा पनि त्यही भयो । बागमतीमा मिश्रित तर ओली र पोखरेलले नै रुचाएका अध्यक्ष चुनिए । ओलीकै गृह प्रदेश कोशीमा पनि हम्मेहम्मे नै पर्यो ।

पार्टीमा गुट छैन भनेका पार्टी अध्यक्ष र आफूलाई भावी अध्यक्षको रुपमा अघि सार्न तम्सिएका महासचिवलाई प्रदेश अधिवेशनले धरातल देखाइदिएका छन् । ९औं महाधिवेशनमा उपमहाचिवमा कार्यकर्ताले नरुचाएका पोखरेल दशौंमा ओली दाहिना हुँदा महासचिव त हुनुभयो तर उहाँको प्रभाव ग्रासरुटमा कमजोर देखियो ।

अरुलाई गुटबन्दीको आरोप लगाउने र खारेजीको धम्की दिने तर आफू भने मरिहत्ते गर्ने प्रवृत्ति पोखरेलका लागि घातक हुने देखिन्छ । गण्डकी प्रदेश अधिवेशनमा पनि पोखरेल खुलम्खुल्ला गुट निर्माणमा देखिँदा उहाँ साझा नभई गुटको महासचिवमा सीमित बन्ने देखिएको छ ।

एमालेले वर्ष २०८० लाई अधिवेशन वर्ष भनेको छ । यही वर्ष एमालेले ७ प्रदेश, ७७ जिल्ला, ७ सय ५३ पालिका सहित सबै वडा र टोलमासमेत अधिवेशन गर्दैछ । यीनै अधिवेशनबाट सबै तहमा आफू अनुकुलको नेतृत्व चयन गर्ने अध्यक्ष ओली र महासचिव पोखरेलको चाहना प्रदेश अधिवेशनबाटै तुहिने जोखिम देखिएको छ ।

तत्कालीन कम्युनिष्ट गठबन्धनबाट ०७४ को प्रदेशसभा जितेका पोखरेल समानुपातिकबाट संविधानसभा सदस्य भए बाहेक जनअनुमोदित हुन सक्नुभएको छैन। आम निर्वाचनदेखि पार्टीकै निर्वाचनसम्ममा स्मरणीय रुपमा अनुमोदित हुन नसकेका पोखरेल जारी प्रदेश अधिवेशनहरुमा आफ्नो गुटलाईसमेत अनुमोदन गर्न असफल बन्नु भयो ।

प्रदेश अधिवेशनहरुमा पोखरेलको गुट कमजोर भइरहँदा यसको सिधा असर पार्टी नेतृत्वसम्मै पुग्ने देखिएको छ । किनकी ओलीकै लाइनमा ुगुटमुक्त एमालेुको नारा लगाउँदै आफैँ गुट खडा गरेर चुनाव लडाइरहेका पोखरेल प्रेदश नेतृत्वमा पाखा लाग्दै गर्दा अब पार्टीमा अदृष्यरुपमा खेल्न खोजेको ठानिएको पूर्वराष्ट्रपति विद्या भण्डारीको लाइन मजबुद हुँदै गएकोसमेत टिप्पणी गर्न थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्