बिशेष

कर्फ्यूबीच पनि झडप भएपछि नेपालगञ्जमा सेना परिचालन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १६ गते २०:५२
कर्फ्यूबीच पनि झडप भएपछि नेपालगञ्जमा सेना परिचालन (भिडियो रिपोर्टसहित)

१६ असोज २०८० काठमाडौं । धार्मिक मुद्दाका हिसाबले नेपालगञ्ज संवेदनशील मानिन्छ । हिन्दु र मुस्लिमबीच पटकपटक नेपालगञ्जमा झडप भएको छ । फेरि एकपटक नेपालगञ्जमा धार्मिक सद्भाव भड्काउने प्रयास भएको छ ।

पैगम्बर मोहम्मदको जन्मदिनको दिन नरैनापुरका एक युवाले सामाजिक सञ्जालमा इस्लाम समुदायप्रति जथाभावी लेखेपछि बाँकेमा धार्मिक तनाव बढेको थियो । यसलाई रोक्न धार्मिक सद्भाव र्‍याली निकालेपनि ढुंगामुढा भएपछि कर्फ्यु जारी गरिएको छ ।

हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु लागेको छ । ओमकार परिवारले निकालेको शान्तिपूर्ण प्रदर्शनमा घरमाथिबाट ढुंगा र सिसा प्रहार भएपछि दंगा फैलिन पुग्यो । भिड तितरबितर भई धार्मिक दंगाको स्थिति उत्पन्न हुँदा जिल्ला प्रशासन कार्यालय बाँकेले कफ्र्यु लगाउन बाध्य भयो।

कसरी फैलियो साम्प्रदायिक द्वन्द्व
असोज ११ मा मुस्लिम समुदाय मोहम्मद डेमा नरैनापुरका एक युवाले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको निन्दा गर्दैै सामाजिक सञ्जालमा जथाभावी स्टाटस लेखे । कलुवा नामको फेसबुक आइडीबाट सो टिप्पणी लेखिएको थियो । तर, धार्मिक निन्दा गरिएको त्यो टिप्पणीबाट मुस्लिम समुदाय तरंगित हुनपुग्यो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ५ का वडाध्यक्ष सराफत खानको मुख्य भूमिका देखिएको छ । जथाभावी स्टाटसविरुद्ध खानको नेतृत्वमा असोज १४ मा एउटा पक्षले नेपालगञ्जमा प्रदर्शन गर्‍यो । सो पक्षले प्रदर्शनका क्रममा टायर बाल्ने, अर्को समुदायप्रति उग्र नाराबाजी गर्ने र जिल्ला प्रशासन कार्यालयभित्र पुगेर झण्डा गाडेपछि अर्को पक्ष बिरोधमा उत्रियो ।

यसैबीचमा खजुराखुर्दका युवाहरूले टिकटकमा हिन्दू समुदायप्रति गालीगलौंच गरेका भिडियो भाइरल भइसकेका थिए । जसपाबाट निर्वाचित वडाध्यक्ष खान स्वयं अर्को समुदायविरुद्ध उत्तेजना फैलाउनेगरी अभिव्यक्ति दिएपछि नेपालगञ्जमा योजनाबद्ध विरोध प्रदर्शन भयो । वडाध्यक्ष खानले माफी माग्नुपर्ने अडान अर्को पक्षको रह्यो । तर, त्यसका लागि उनी तयार भएनन् । ओमकार परिवारले मंगलबार नेपालगञ्ज बन्द आव्हान गर्‍यो । ‘शान्तिपूर्ण’ र्‍याली निकाल्ने जानकारी स्थानीय प्रशासनलाई गराइयो । सोही अनुसार प्रदर्शन हुँदा सिसा र ढुंगा प्रहार भएपछि अन्ततस् कर्फ्यु लाग्यो ।

सद्भावको सहर तर सधैँको डर
सद्भावको सहर भनेर चिनिने बाँकेको नेपालगञ्जमा धार्मिक मुद्दा ब्युँताएर आफ्नो अभिष्ट पूरा गर्ने फेरि जुर्मुराएका छन् । विगतमा पटकपटक धार्मिक दंगा भोगिसकेको नेपालगञ्जले धार्मिक असहिष्णुताको बिउ सुशुष्त अवस्थामा लुकाएर राखेको सहरका रूपमा चिनिन्छ । धर्मको हिसाबले संवेदनशील मानिने भएकाले प्रशासनदेखि प्रहरी संयन्त्र सधैँ चनाखो हुने गर्दछन् । तर, केही दिनदेखि नेपालगञ्जभित्र धार्मिक मुद्दा भुसको आगो झै फैलिँदा पनि प्रहरी र प्रशासनले ध्यान नदिँदा दंगा फैलिएको हो । तर प्रशासन भने अकस्मात घटना भएको बताउँछ ।

फैलिरहन्छ बाँकेमा दंगा
मंगलबार कफ्र्यु नै लगाउने गरी दंगा फैलिएपनि बाँकेमा यो पहिलोपटक भने होइन । २०७३ सालमा मटेहियामा हिन्दू र मुस्लिम समुदायबीच दंगा भड्काउने प्रयास भएको थियो । दुई पक्षका बीच झडप हुँदा नरैनापुरका मुनिजर खाँको मृत्यु भएको थियो । त्यतिखेर पनि मोहम्मद डे मनाउने क्रममा भएको झडपमा आधा दर्जनभन्दा बढी घाइते भएका थिए । २०४९ सालमा बाँकेसँग सीमा जोडिएको जिल्ला दाङको तुल्सीपुरमा दुई युवा समूहबीच भएको झ्डपलाई पनि हिन्दू–मुस्लिमबीच भएको दंगा भनी प्रचार गरिएको थियो । सामाजिक सञ्जालबाट धार्मिक तनाव बढाउन खोजिएको भन्दै सांसद धवलसम्शेर राणाले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

हिन्दु–मुस्लिमबीच हुने सामान्य विवादमा राजनीतिक दलले पनि घ्यु थप्ने काम गर्ने गरेका छन् । तर, राजनीतिक दल भन्दा अगाडि प्रहरी र प्रशासन सचेत भइदिएको भए नेपालगञ्ज कफ्र्यु लगाउनुपर्ने अवस्थामा मंगलबार पुग्ने थिएन । प्रशासनले यसलाई सुझबुझ रूपमा टुंग्याउन नसके नेपालगञ्जमा धार्मिक असहिष्णुताको बिउले प्रश्रय पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्