बिशेष

प्रधानमन्त्रीको विदेश भ्रमण, सदुपयोग गर्न नसक्दा झिना मसिना समझदारी मात्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १३ गते २०:३७
प्रधानमन्त्रीको विदेश भ्रमण, सदुपयोग गर्न नसक्दा झिना मसिना समझदारी मात्र (भिडियो रिपोर्टसहित)

१३ असोज २०८० काठमाडौं । दुई साता लामो विदेश भ्रमण सकाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कनुभएको छ ।

संयुक्तराष्ट्रको ७८ औँ महासभामा भाग लिएर सिधै चीन जानु भएका प्रचण्डले दुई देशको भ्रमण एकदमै फलदायी र उपलब्धीमुलक भएको दावी गर्नुभएको छ । तर, प्रधानमन्त्रीको यो भ्रमण चीनसँग भएका सम्झौताका आधारमा थोरै सफल भयो । भ्रमणमा निस्कनुअघि परराष्ट्र मन्त्रालय र स्वयं प्रधानमन्त्रीले भने जस्तो सबै एजेन्डामा भने प्रवेश गर्न सकेन ।

शनिवार स्वदेश फर्कनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमण अत्यन्त सफल भएको दावी गरेपनि दुई सातामा नेपालले महत्वपूर्ण मञ्चमा आफ्नो गर्विलो उपस्थिति जनाउन चुक्यो भने चीनलाई फकाउन पनि असफल रह्यो । कुटनीति र शिष्टाचारको धज्जी उडाइँदा चीनमा गौरवपूर्ण सम्मान प्रधानमन्त्रीले प्राप्त गर्नुभयो । तर प्रधानमन्त्रीको यो भ्रमण आंशिक मात्रै सफल रह्यो । जबकी दुई सातामा प्रधानमन्त्रीले धेरै गर्न सक्नुहुन्थ्यो ।

कहाँ चुके प्रधानमन्त्री प्रचण्ड ?

अन्तर्राष्ट्रिय फोरमको सदुपयोग भएन
प्रधानमन्त्रीले अमेरिकामा तीन वटा सम्बोधन गर्नुभयो । जलवायु सम्मेलन र अतिकम विकसित राष्ट्रको संस्था एलडीसीलाई सम्बोधन गर्नुभयो । दुईवटै सम्मेलन नेपालका लागि महत्वपूर्ण थियो । जलवायु परिवर्तनले नेपाल जस्तो मुलुकमा पारेको असर र नेपालले खेल्न सक्ने भूमिकाबारे स्पष्ट बोल्न सक्ने मौका थियो । जसमा प्रधानमन्त्री चुक्नुभयो ।

नेपालको योजना, शक्ति राष्ट्रका कारण नेपाल जस्तो मुलुकमा जलवायु परिवर्तनले पारेको प्रभावबारे खुलेर भन्न सक्नुपथ्र्यो । तर प्रदर्शन फितलो रह्यो । असोज १ गते राष्ट्रसंघको महासभा अन्तर्गत अतिकम विकासित राष्ट्रहरुको संस्था एलडीसीलाई सम्बोधन गर्दा नेपाल विकसित देश बन्ने योजना त सुनाउनुभयो । तर नेपाल विकसित हुन सक्ने आधारबारे चर्चा गर्न सक्नुभएन । एकपछि अर्को नेपालको रणनीति र योजनाबारे अन्तर्राष्ट्रिय फोरममा स्पष्ट खाका प्रस्तुत हुन सकेन ।

शान्ति प्रक्रियामा सहयोगको माग
महासभामा सम्बोधनको क्रममा प्रधानमन्त्रीले नेपालको अहिलेसम्मको अवस्था जानकारी गराइरहँदा प्रधानमन्त्रीले शान्ति प्रक्रियाको विषयबारे पनि चर्चा गर्नुभयो । नेपालमा शान्ति प्रक्रिया टुंग्याउन बाह्य सहयोग नचाहिने दावी गर्ने प्रचण्डले अन्तर्राष्ट्रिय समूदायको सहयोग माग्नु जायज थियो वा थिएन बहसकै विषय छ । यद्यपी, शान्ति र मेलमिलापको उदाहरण नेपालबाट सिक्नुपर्ने भन्दै दिनुभएको अभिव्यक्ति भने प्रशंसनीय थियो ।

सार्क साइडलाइन वार्ता भएन
परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्रीले समेत न्युयोर्कमा साइडलाइन वार्ता हुने दावी गर्नुभएको थियो । तर, त्यसबारेमा कुनै प्रयास नै हुन सकेन । नेपालको प्रस्तावलाई भारतले नै चासो दिएन । अर्थात भारतसँग प्रष्ट संवाद भएन ।

चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार, प्रस्तुत भएन नेपालको चाहना
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सम्बोधनलगत्तै न्युयोर्कबाट चीनको हाङ्झाउमा १९औँ एसियाली खेलकुद उद्घाटन समारोहमा सहभागी हुन पुग्नुभएका प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङसित उद्घाटन समारोहमा शिष्टाचार भेट गर्नुभयो । उद्घाटनपछिको साइडलाइनमा प्रधानमन्त्री दाहालको राष्ट्रपति सीसँग १५ मिनेट एक्लाएक्लै कुराकानी भयो । त्यसपछि हाङ्झाउको बेस्ट स्टेट गेस्ट हाउसमा एक घन्टा भेटवार्ता पनि भयो । तर चीनसँग नेपालको चाहना स्पष्ट रूपमा प्रस्तुत भएको पाइएन ।

समकक्षीसँग दुईपक्षीय छलफल, झिनामसिना सम्झौता
दुई देशको प्रतिनिधिमण्डलबीच भएको वार्ताको दौरान सीमापार विद्युत् प्रसारण लाइन निर्माण तथा प्राचीन ग्रन्थ प्रकाशन, यात्रु र कार्गो सेवा सहज तथा व्यवस्थित गर्ने, नेपाली घाँस र भैँसीको मासु निर्यात गर्नेजस्ता झिनामसिना १२ वटा सम्झौता र एक समझदारी पत्रमा हस्ताक्षर भयो । जबकी प्रसारण लाइनको सम्झौता पहिले नै भइसकेको हो, कार्यान्वयनको मात्र कुरा थियो ।

नेपाललाई आर्थिक रूपमा फाइदा पुग्ने कुनै दीर्घकालीन ठोस सम्झौता भएन । २०७४ मा हस्ताक्षर भएको बीआरआई कार्यान्वयनका लागि कार्ययोजना बनाउने सम्झौता भयो । तर, बीआरआईअन्तर्गत नेपालमा सडक निर्माण, विद्युत् उत्पादन, औद्योगिक विकासलगायत विषयमा भने सहमति हुन सकेन ।

नक्सा प्रसंग, सीमा समस्या, नाका सञ्चालनमा भएन कुराकानी
चीनले भदौ ११ मा प्रकाशित गरेको नक्सामा नेपालको लिपुलेक–कालापानी–लिम्पियाधुराको चुच्चे क्षेत्र नदेखाएको विषय छलफलको एजेन्डामा पर्न सकेन । न राष्ट्रपति न समकक्षीसँगै यस विषयमा प्रधानमन्त्रीले कुरा राख्न सक्नुभयो । नेपाल, भारत र चीनको त्रिदेशीय क्षेत्रमा पर्ने लिपुलेक–कालापानी–लिम्पियाधुरा मामिलामा चीनको धारणा समेत माग्न सकिएन । नेपालसँग विभिन्न परियोजनामा सहभागी हुन चीनले चासो राखिरहँदा नेपालले लिपुलेकबारे चीनसाग धारणा माग्न सकेको भए विन विनको अवस्था आउने थियो । तर, प्रधानमन्त्री चुक्नुभयो ।

आश्वास्त भएन चीन
बीआरआई परियोजनामा नेपाल अझै धरमरमा छ । जीएसआईबारे चीनले नेपालको साथ खोजिरहेपनि नेपालले स्पष्ट रुपमा हुन्छ वा हुँदैन भन्न सकेको छैन । यो पटक पनि चीनले यसबारेमा चासो नराखेको होइन । तर अध्ययनकै क्रममा रहेको भन्दै नेपालले यसलाई टार्दा विद्युत व्यापार सम्झौता बारे चीनले पनि थप कुरा अघि बढाएन ।

उदाङ्गिएको नेपाली कूटनीति
भ्रमणमा खड्किएको कुटनीति हो । प्रधानमन्त्रीकी छोरी गंगा दाहाल, दुईपक्षीय छलफलमा सँगै बस्नुले अनेकन प्रश्न उब्जायो । तर, यसबारेमा प्रधानमन्त्रीबाट कुनै जवाफ आएन ।

प्रधानमन्त्रीको स्वागत, औपचारिक भ्रमणमा पनि राजकीय भ्रमण झैँ सम्मान गारद अर्पण गरेर चीनले प्रधानमन्त्रीको खातिरदारी राम्ररी गर्दा प्रधानमन्त्रीले भने यो समयको सदुपयोग गर्न भने सक्नुभएन । समग्रमा प्रधामनन्त्रीको दुई साता लामो भ्रमण नेपालको संयुक्त राष्ट्रसंघमा उपस्थित र चीनसँगको सम्बन्ध नवीकरण गर्ने र केही सम्झौता गर्ने भन्दा माथि उठ्न सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्