Main News

प्रहरीमा घटना दर्ता बढे, अनुसन्धानका लागि जनशक्ति न्यून (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १२ गते २०:५४
प्रहरीमा घटना दर्ता बढे, अनुसन्धानका लागि जनशक्ति न्यून (भिडियो रिपोर्टसहित)

१२ असोज २०८० काठमाडौं । ८० हजार जनशक्ति रहेको नेपाल प्रहरीमा अपराध अनुसन्धानका लागि तोकिएको जनशक्ति छ, २ हजार ३ सय ९२ जना । तर प्रत्येक वर्ष प्रहरीमा अपराधका मुद्दा थपिइरहेका छन् ।

वर्षेनी ठूलो अनुपातमा मुद्दा थपिँदा न्यून जनशक्ति रहेको प्रहरीलाई अनुसन्धान गर्नै हम्मे हम्मे पर्न थालेको छ । जसले गर्दा समयमै अपराधको अनुसन्धान नहुने र त्यसले पीडित पक्षलाई न्यायको अनुभूति नहुने अवस्था सिर्जना भएको छ ।

गत आर्थिक वर्ष २०७९–०८० मा नेपाल प्रहरीमा ५६ हजार ३ सय १५ वटा घटना दर्ता भए । अघिल्लो आर्थिक वर्षमा ४६ हजार ९ सय २ वटा घटना दर्ता भएका थिए । यो तथ्यांकअनुसार प्रहरीमा एकै वर्षमा ९ हजार ४ सय १३ अर्थात् २० दशमलब शून्य ७ प्रतिशत घटना बढी दर्ता भएका छन् ।

दर्ता भएका घटनामा बैंकिङ कसुर, मिटरब्याजदेखि सहकारी ठगीसम्म र चेक बाउन्सदेखि लागुऔषधसम्मका धेरै छन् । यी घटना संवेदनशील रहेका कारण प्रहरीलाई अनुसन्धानका लागि समयसमेत बढी लाग्छ । प्रत्येक वर्ष बढ्ने मुद्दामा पनि यस प्रकारका अपराधको अनुपात धेरै देखिन्छ ।

प्रहरी तथ्यांकअनुसार बैंकिङ कसुरका मुद्दा एक सय ३५ प्रतिशतले बढेका छन् । आर्थिक वर्ष ०७८–७९ मा प्रहरीमा यससम्बन्धी ५ हजार ३ सय ८३ मुद्दा दर्ता भएकोमा ०७९–८० मा १२ हजार १ सय ३५ मुद्दा दर्ता भए । सामाजिक अपराधसम्बन्धी मुद्दा पनि एक वर्षमा ११ हजार ९ सय ८२ दर्ता भएका छन् ।अघिल्लो वर्ष ०७८–७९ मा यस्तो संख्या ९ हजार ९ सय ८४ थियो ।

अपराध उच्चदरमा वृद्धि हुँदा पनि त्यसको अनुसन्धान गर्ने जनशक्तिको संख्या भने वर्षौँदेखि उही छ । अर्थात् अपराध अनुसन्धानमा प्रहरीले परिचालन गर्ने जनशक्ति २ हजार ३ सय ९२ जना मात्र छ । जसअनुसार एक जनाले वर्षमा औसत २३ मुद्दाको अनुसन्धान गर्नुपर्ने हुन्छ । मुद्दाको अत्यधिक चाप हुने जिल्लामा त एकै प्रहरीले वर्षमा ५० वटासम्म मुद्दा हेर्नुपर्ने बाध्यता छ ।

प्रविधिको विकाससँगै अपराधका शैली र प्रवृत्ति फेरिँदै जाँदा प्रहरीको जनशक्ति मात्र होइन अनुसन्धानको प्रणाली पनि फेरिएको छैन । अनुसन्धानका लागि प्रहरीले पर्याप्त प्राविधिक सहयोगसमेत प्राप्त गर्न सकिरहेको छैन । जसका कारण वर्षेनी मुद्दासँगै प्रहरीमाथिको भरोसासमेत बढ्दा पनि अनुसन्धान भने कमजोर बनिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *