Main News

एक महिनामा चार अस्पतालमा कुटिए डाक्टर, काम गर्ने मनोबल नभएको भन्दै आन्दोलित (भिडियो रिपोर्टसहित)

२०८० असोज ९ गते २०:५६
एक महिनामा चार अस्पतालमा कुटिए डाक्टर, काम गर्ने मनोबल नभएको भन्दै आन्दोलित (भिडियो रिपोर्टसहित)

९ असोज २०८० कास्की । पछिल्लो समय चिकित्सकमाथि श्रङखलाबद्ध आक्रमणका घटना बढ्दै गएको छ । बिरामीको मृत्यु भएपछि आक्रोशित भीडको सिकार चिकित्सक भइरहेका छन् ।

निरन्तर आक्रमणमा परेपछि चिकित्सक आन्दोलनमा उत्रिएका छन् । मकवानपुरंको सन्चो अस्पतालमा चिकित्सक कुटिएको घटना सेलाउन नपाउँदै पुनः पोखरास्थित मणिपाल अस्पतालमा चिकित्सक कुटिएपछि चिकित्सकले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन गरिरहेका छन् ।

भदौ २६ गते मकवानपुरको सन्चो अस्पतालका चिकित्सक कुटिएपछि नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्थामा उपचार प्रभावित भयो । आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर चिकित्सक आन्दोलनमा उत्रिए ।

सरकारले आक्रमणकारीलाई हदैसम्मको कारवाही गर्ने आश्वासन दिएपछि आन्दोलन शान्त भयो । तर, १४ दिनपछि फेरि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सक कुटिएपछि चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

आफूहरूमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षा माग्दै चिकित्सकहरू सडकमा निस्किएका छन् । डाक्टरहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका छन् । माइतीघरमा विरोध प्रदर्शन गर्दै उनीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा समेत मागेका थिए ।

सोमबार पोखराको मणिपाल अस्पतालको घटना आतंक मच्चाउने किसिमको थियो । लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका थिए ।

अस्पताल भित्रै प्रवेश गरेर तोडफोड र आक्रमण हुन थालेपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको थियो । तर, प्रहरीको संख्याले यसलाई रोक्न सकेन । अस्पताल परिसरभित्रै छिरेर अस्पतालमा कुसी फ्यांक्ने, मन्दिर तोडफोड गर्ने जस्ता हर्कत भएको थियो । प्रहरीले चिकित्सकको कुटपिटको आरोपमा ऋषि बस्नेतलाई पक्राउ गरेको छ ।

तर, चिकित्सकहरूले भने दोषीलाई बिना धरौटी जेल चलान गर्नुपर्ने र त्यससम्बन्धी कानुनी सुनिश्चितता नभएसम्मका लागि सेवा दिन नसक्ने बताइरहेका छन् । सन्चो र मणिपाल पछिल्ला उदाहरण हुन् । केही दिन अघि लमजुङ जिल्ला अस्पतालका डाक्टर सन्दीप अधिकारीलाई वेसीशहर नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष ऋषि बस्नेतले कुटपिट गरेका थिए ।

अहिले बस्नेत प्रहरी हिरासतमा छन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी, पुर्याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पु‍र्याउनेलाई पुर्पक्षका लागि थुनामा राखेर थप सजाय हुने व्यवस्था गरिएको छ । र तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ । बिरामी पक्षले यो बुझ्न जरुरी छ कि सबै बिरामीलाई अस्पताल पुर्‍याउँदैमा ज्यान बच्दैन ।

डाक्टर भगवान होइन । र कुनै पनि डाक्टरले उसको हातमा आएको बिरामी मरोस् भने चाहँदैन, बचाउन हरसम्भव प्रयास गर्छ । संयमता अपनाउन जरुरी छ । आफ्नो प्रियजनको ज्यान जाँदा कष्ट त हुन्छ तर आबेगमा आएर अरुमाथि हात हाल्दैमा त्यो ज्यान फर्केर आउँदैन । यदि साँच्चै डाक्टरले हेलचेक्र्याईं गरेको जस्तो लाग्छ भने कानुनी उपचार खोज्नुपर्छ । त्यो नै सबैभन्दा उत्तम उपाय हो । कानुन आफ्नो हातमा लिनु भनेको अराजकतालाई प्रश्रय दिनु हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *