बिशेष

शिक्षक महासंघ र सरकारबीच वार्ता जारी

हिमालय टिभी
२०८० असोज ५ गते १३:१८
शिक्षक महासंघ र सरकारबीच वार्ता जारी

५ असोज २०८० काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच औपचारिक वार्ता जारी छ ।

आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा वार्ता भइरहेको हो । वार्तामा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी छन् ।

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वार्तालाई आजै निष्कर्षमा पुर्‍याउन निर्देशन दिनुभयो । हिजो दुई चरणमा छलफल भए पनि कुनै ठोस सहमति भने भएको थिएन । पहिलो चरणमा बिहान गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिबिच वार्ता भएको थियो ।

छलफल आन्दोलनलाई कसरी संयमित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने विषयमा केन्द्रीत थियो । राति फेरि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री प्रकाशशरण महत, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई तथा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङ र महासंघका पदाधिकारीबीच वार्ता भएको थियो ।

आन्दोलनरत पक्षले शिक्षा विधेयकमा समावेश गर्नुपर्ने भनि उठाएका माग प्रस्तुत गरेका थिए । आफूहरूको माग कुनै पनि हालतमा पूरा हुनुपर्ने महासंघको अडानपछि सरकारका तर्फबाट आन्तरिक छलफल गर्ने सहमति भएको थियो ।

सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेपछि विधेयकमा रहेको प्रावधानप्रति आपत्ति जनाउँदै शिक्षक महासंघले आन्दोलन घोषणा गरेको हो । बुधबारदेखि काठमाडौं केन्द्रित शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्