Main News

विरासत बोकेको कोइराला परिवार : विवाद, खटपट र फूटबाट गुज्रिदै (भिडियो रिपोर्टसहित)

२०८० असोज १ गते २०:३०
विरासत बोकेको कोइराला परिवार : विवाद, खटपट र फूटबाट गुज्रिदै (भिडियो रिपोर्टसहित)

१ असोज २०८० काठमाडौं । कांग्रेसमा मात्रै नभएर नेपाली राजनीतिमै विरासत बोकेको कोइराला परिवारबाट तीन जना सक्रिय राजनीतिमा छन् ।

शेखर, शंशाक र सुजाता कोइराला कांग्रेस पार्टीमै रहेर राजनीति गरिरहेका छन् । एउटै परिवारबाट भएपनि उनीहरु एकमत छैनन् । यसो त इतिहास देखि नै कोइराला परिवार विवाद, खटपट र फूटबाट गुज्रिदै आएको छ ।

नेपाली कांग्रेसका नेता शेखर कोइराला अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग सन्तुष्ट हुनुहुन्न । शेखरले अहिलेको सरकारको विकल्प खोज्नु पर्ने सार्वजनिक रुपमा बताउँदै आउनु भएको छ । शेखरले प्रचण्डको विकल्प खोजिरहँदा पूर्व महामन्त्री शंशाक भने प्रचण्ड नेतृत्वको सरकार पाँचै वर्ष जान सक्ने बताउँनुहुन्छ ।

एउटै परिवारका दुई नेताको फरक फरक अभिव्यक्ति आउँदा कोइराला परिवार भित्र पछिल्लो समय खटपट सुरु भएको हो कि भन्ने आशंका गर्न थालिएको छ । यसो त शेखर र शंशाक कोइरालाले सरकारका बिषयमा फरक फरक धारणा सार्वजनिक गरिरहँदा बहिनी सुजता कोइराला भने पछिल्लो समय मौन देखिनु भएको छ । सुजता कोइराला पछिल्लो समय सार्वजनिक कार्यक्रममा पनि कमै देखिनु भएको छ ।

यसो त गत दुई वर्ष अघि सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा शेखरले आफ्नो नेतृत्वको अलगै प्यानल बनाउँदा शशांक पार्टी सभापति देउवा निकट देखिनु भएको थियो भने सुजताले नेता प्रकाशमान सिंहको टिमबाट उम्मेदवारी दिनु भएको थियो । महाधिवेशन देखि नै कोइराला परिवारका तीन नेताका बीचमा खटपट सुरु भएको अनुमान गरिएको छ ।

कोइराला परिवार एक ठाउँमा उभिन नसकेको यो पहिलो पटक भने होइन् । २ हजार ७ सालदेखि नै परिवारमा खटपट र विवाद हुँदै आएको छ । कृष्णप्रसाद कोइरालाका पाँच भाई छोरा थिए, मात्रिका, बिपी, तारिणी, केशव र गिरिजाप्रसाद कोइराला । पाँच भाई मध्ये बीपी, मात्रिका र गिरिजाप्रसाद कोइराला मात्रै सक्रिय राजनीतिमा रहे । तीन भाइमध्ये पनि बीपी र मात्रिकाका बीचमा कहिल्यै सुमधुर सम्बन्ध रहेन ।

भाइ बीपीसँग विवादपछि मात्रिकाले पार्टी नै छाड्नु परेको थियो । मात्रिकाका माइला छोरा कमल कोइराला त २ हजार ११ सालमै कांग्रेस छाडेर कम्युनिष्ट कित्तामा उभिन पुग्नुभएको थियो । बीपीपछि गिरिजाप्रसादले एकलौटी रुपमा पार्टीको नेतृत्व गर्नुभयो । उहाँको निधनपछि पार्टीको बागडोर सम्हाल्ने अवसर कोइराला परिवारबाटै शुशील कोइरालालाई प्राप्त भयो ।

उहाँको निधनपछि भने पार्टीको नेतृत्व कोइराला परिवारबाट फुत्किएर शेरबहादुर देउवाको हातमा पुगेको छ । पार्टीको नेतृत्वमा पुग्ने अवसर खोजिरहेका शेखर र शंशाक कोइराला एक ठाउँमा उभिनै सकस परिरहेको छ ।

बीपी पुत्र भएका कारण शंशाकलाई भावी सभापतिका रुपमा हेरिएपनि पार्टी भित्रको पकडका कारण शेखर कोइरालालालाई बढी संभावना बोकेका नेताको रुपमा हेरिँदै आइएको छ । बहिनी सुजता भने गिरिजाप्रसाद कोइरालाको निधनपछि झन पछि झन कमजोर बन्दै गएको कांग्रेसजनहरु नै बताउँछन् । कोइराला परिवारका तीन सदस्यको बेमेलको फाइदा भने सोझै सभापति देउवालाई पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *