बिशेष

बञ्चरेडाँडाको बिजोग : प्रभावित क्षेत्रका बासिन्दा रोगले आक्रान्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ३० गते २०:३६
बञ्चरेडाँडाको बिजोग : प्रभावित क्षेत्रका बासिन्दा रोगले आक्रान्त (भिडियो रिपोर्टसहित)

३० भदौ २०८० काठमाडौं । काठमाडौं महानगर र तत्कालीन ललितपुर उपमहानगरपालिकाले २०६२ सालमा छोटो समयको लागि हो भन्दै आश्वस्त पारेपछि सिसडोल ओखरपौवाका बासिन्दाले फोहर फाल्न दिन सहमत भए ।

त्यतिवेला काठमाडौंमा दैनिक चार सय मेट्रिकटन फोहर उत्पादन हुन्थ्यो । पाँच वर्षका लागि फोहर फाल्न दिने सहमति गरे पनि काठमाडौं महानगरपालिकासहित उपत्यकाका अन्य स्थानीय तहले अटेर गर्दै अहिलेसम्म फोहर फालिरहेका छन । प्रभावित क्षेत्रका बासिन्दा अहिले रोगले आक्रान्त छन् ।

२०६२ जेठ २२ गतेदेखि तत्कालीन स्थानीय विकास मन्त्रालयको नेतृत्वमा नुवाकोटको सिसडोल(ओखरपौवामा फोहर फाल्न थालियो । करिब दुई लाख ७५ मेट्रिकटन फोहर भ्याली– १ भनेर निर्माण गरिएको पोखरीमा फालियो । त्यहाँ फोहर फाल्नुअघि नै स्थानीय विकास मन्त्रालयले जाइकासँग मिलेर बन्चरेडाँडामा अर्को पाइलट प्रोजेक्ट तयार पार्ने योजना पनि अघि बढायो ।

पाँच वर्षपछि २०६७ सालमा भ्याली( १ पोखरी भरियो । त्यतिबेलासम्म स्थानीय विकास मन्त्रालयले बन्चरेडाँडामा विकल्पका रूपमा ल्यान्डफिल्ड साइट तयार पार्न सकेन । जाइका पनि पाइलट प्रोजेक्टबाट पछि हट्यो । त्यसपछि पुनः त्यही ठाउँमा भ्याली– २ भनेर अर्को पोखरी निर्माण भयो । त्यो पोखरी पनि तीन वर्षमा भरियो । सिसडोलबासीले पाँच वर्षका लागि भनेर आठ वर्ष फोहर फालेपछि विरोध गर्न थाले । तर, बन्चरेडाँडामा अर्को ल्यान्डफिल्ड साइट बनाउने योजना नै शुरु भएन । त्यसपछि तत्कालका लागि सिसडोलनजिकै रहेको आलेटारमा फोहरबाट मल फ्याक्ट्री बनाउन जाइकाअन्तर्गतको लुना फर्टिलाइजर कम्पनीलाई जिम्मा दिइयो ।

दुई वर्ष कम्पनीले फोहरबाट मल फ्याक्ट्री चलायो । पछि त्यही कम्पनीलाई नै बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल्ड साइट बनाउन जिम्मा दिने निर्णय भयो । तर, दुई वर्षपछि कम्पनीले आफ्नो प्रोजेक्ट बन्चरेडाँडामा लैजान मानेन । आलेटार भरिएपछि फ्याक्ट्री नै बन्द भयो । २०७२ पछि महानगरले पुनः सिसडोलमा फोहरको पहाडमाथि फोहर फाल्न थाल्यो । गाउँबस्ती नै दुर्गन्धित हुन थालेपछि सिसडोलबासीले विरोध थाले ।

एकै ठाउँ फोहर नफाल्न गरेको आग्रह काठमाडौं महानगरले अटेर गरिरह्यो । सहरी विकास मन्त्रालयले ०७६ साल वैशाख २२ मा एक अर्बको लागत स्टिमेटसहित बन्चरेडाँडा ल्यान्डफिल्ड साइट बनाउन लुम्बिनी(कोसी(न्यौपाने जेभी र कालिका कन्स्ट्रक्सन प्रालिलाई ठेक्का लगायो । तर, ठेकेदार कम्पनीले हालसम्म पनि स्टिमेट र सम्झौताअनुसारको ठेक्का पूरा गरेका छैनन् ।

ल्याण्डफिल्ड साइटका बासिन्दा मारमा परिरहेका छन । काठमाडौं महानगरपालिकाले दीर्घकालीन रुपमा फोहर व्यवस्थापनको काम गर्नु भन्दा पनि अस्थायी समाधान खोजिरहेको छ । यो गलत छ । जबकी फोहरको व्यवस्थापन सहज ढंगले गर्न सकिने धनकुटामा सहज फोहर व्यवस्थापन गरेका उपेन्द्र खनाल बताउनुहुन्छ ।

काठमाडौं महानगरले बिसर्जन गर्ने फोहरका कारण धुनीबेँशी नगरपालिकाका वडा नम्बर १, ३, ४ र ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ का बासिन्दा प्रभावित छन् । फोहरले घेरिएको ककनी गाउँपालिकाका वडा नम्बर १, २ र ३ वडाका मानवबस्ती रोगले आक्रान्त छ ।

यी ३ वडामा क्यान्सर र मुटुरोगीको संख्या धेरै छ । करिब ३ हजार घरधुरी फोहरबाट अति प्रभावित छन् । फोहर फाल्न थालेदेखि अहिलेसम्म क्यान्सरबाट मात्र ३५ जनाभन्दा बढीको मृत्यु भएको स्थानीयले जनाएका छन । फोहरले मानव स्वास्थ्यमा शहर गरेको छ नै पशुपंक्षी पनि मर्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *