हात्ती भगाउन रातभर जाग्राम (भिडियो रिपोर्टसहित)

२०८० भदौ ३० गते १७:०६
हात्ती भगाउन रातभर जाग्राम (भिडियो रिपोर्टसहित)

३० भदौ २०८० कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ शिवनगरका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् ।

भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन रातभर जाग्राम बस्न थालेका हुन् । सीमावर्ती भारतीय जंगलबाट आउने हात्तीको बथानले वर्षेनी अन्नबाली नष्ट गर्नुका साथै स्थानीयका घर टहरासमेत भत्काउने र मानवीय क्षति गरे पनि यसको दीर्घकालीन समाधानतर्फ कुनै निकायको भने ध्यान जान सकेको छैन ।

प्रायस् अन्नबाली भित्र्याउने बेलामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा सीमावर्ती भारतीय जंगलबाट आउने जंगली हात्तीको बथानले भीमदत्त, शुक्लाफाँटा, दोधारा चाँदनी, पुनर्वास नगरपालिका र दक्षिणी क्षेत्र लालझाडी गाउँपालिकालगायतका क्षेत्रमा हात्तीले आतंक मच्चाउने गरेको छ । उक्त क्षेत्रमा अहिले हात्ती धपाउन रातभरि जाग्राम बस्नुपर्ने बाध्यता छ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ शिवनगरका महावीर क्षेत्रीको घर नेपाल–भारत सीमा नजिकै पर्छ । उहाँको भारतीय सीमामा जोडिएको एक बिघा जमिन छ । जमिनमा धान, गहुँ, तिल तथा मकै खेती गरिए पनि जङ्गली हात्तीका कारण उहाँले खेतको पूरै उब्जाउ कहिल्यै भित्राउन पाउनुहुन्न ।पारी भारततर्फ नङरा जङ्गल छ । उक्त जङ्गलबाट आउने जङ्गली हात्तीको बथानले बर्सेनि बालीनालीमा क्षति पुर्‍याउने गरेको उहाँको गुनासो छ ।

पाँच कट्ठा खेतको बाली हात्तीको बथानले सखाप पारेको छ । जोगबूढा नदी पारीको बस्ती शिवनगरवासी वर्षौदेखि जङ्गली हात्तीको समस्या झेल्दै आएका छन् । जङ्गली हात्तीबाट बाली जोगाउन रातभर जाग्राम बस्नुपर्छ । आगो बालेर ढ्याङ्ग्रो बजाउँदै हो–हल्ला गरेर हात्ती धपाउने गरका छन् । बालीनाली मात्रै होइन, ज्यानै जोगाउन पनि मुस्किल परेको उनीहरुको गुनासो छ ।

बर्षेनी हात्तीले बालीमा क्षति पुर्‍याउँदा खेती गर्दाको लगानी पनि संकलन नहुने र अन्न किनेर खानुपर्ने अवस्था छ । यस बिषयमा सरकारले चासो नदिँदा मानवबस्ती नै जोखिममा छ । सरकारको नजर शिवनगरमा नपर्दा नेपाली सीमामा पिल्लर बनिरहेका बसिन्दा रहलान् भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *