Main News

कोरोनाकालमा जडित अक्सिजन प्लान्टको अवस्था के छ त ? (भिडियो रिपोर्टसहित)

२०८० भदौ ३० गते १७:०२
कोरोनाकालमा जडित अक्सिजन प्लान्टको अवस्था के छ त ? (भिडियो रिपोर्टसहित)

३० भदौ २०८० काठमाडौं । कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेका बेला देशभरका अस्पतालमा अक्सिजनको चरम अभाव भयो ।

कोरोना संक्रमण भएर गम्भीर अवस्थामा अस्पतालमा पुगेका कयौं संक्रमितले आईसीयू(भेन्टिलेटर सुविधा पाउनु त धैरै परको कुरा थियो, अक्सिजन समेत पाएनन् । त्यत्तिबेला देशभरका अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने होडबाजी नै चल्यो । अक्सिजन प्लान्ट जडानपछि धेरै संक्रमितलाई राहत पनि मिल्यो । अहिले अस्पतालमा जडान भएका ती अक्सिजन प्लान्टको अवस्था के छ त ?

कोरोना महामारीको समयमा अक्सिजन अभाव पूरा गर्नका लागि देशभर ८५ वटा अक्सिजन प्लान्ट जडान गरिएका थिए । ती अक्सिजन प्लान्ट कस्तो अवस्थमा छन् भनेर हामी संघीय राजधानीका केही अस्पतालमा पुगेका छौं ।

पहिले चर्चा गरौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको । कोरोना संक्रमणका बेला यो यो अस्पतालले दिएको सेवाको अहिले पनि चर्चा हुन्छ । ठूलो संख्यामा कोरोना संक्रमितले यो अस्पतालबाट पुनःजीवन पाएका थिए । बिरामीको उपचारमा सहयोगी बनेको थियो यहाँ रहेको अक्सिजन प्लान्ट ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
अक्सिजन प्लान्ट संख्याः २ वटा
लिक्विड अक्सिजन प्लान्टको क्षमताः २० हजार लिटर
पीएसए अक्सिजन प्लान्टको क्षमता( दैनिक ६० देखि ७० सिलिण्डर
अहिलेको अवस्थाः लिक्विड अक्सिजन प्लान्ट आवश्यक नभएकाले प्रायः बन्द
पीएसए प्लान्ट सञ्चालनमा

लिक्विड अक्सिजन प्लान्ट कोरोना महामारी अघि नै जडान गरेको अस्पतालले कोरोनाको समयमा दातृ निकायको सहयोगमा थप एक प्लान्ट जडान गरेको थियो । महामारीको समयमा पूर्ण क्षमतामा चलेका यी प्लान्ट अहिले आंशिक रुपमा चलाइएको छ । लिक्विड अक्सिजन प्लान्ट अहिले खासै प्रयोग नभए पनि पीएसए अक्सिजन प्लान्ट भने नियमित सञ्चालनमा छ । डेंगू र सर्पको डसाइबाट गम्भीर अवस्था भएकाको उपचारमा अक्सिजन उपयोगी बनिरहेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा पनि अक्सिजन प्लान्ट निर्माण गरिएको थियो । यो प्लान्ट भने लिक्विड अक्सिजन प्लान्ट हो । यस्ले आफैं अक्सिजन उत्पादन गर्दैन् । बाहिरबाट लिक्विड अक्सिजन लिएर भर्नु पर्छ ।

ट्रमा सेन्टरको अक्सिजन प्लान्टको क्षमताः दैनिक ६ देखि ७ हजार लिटर
दैनिक खपत हुने अक्सिजनः ४०० देखि ५०० लिटर
अहिलेको अवस्थाः पूर्ण रुपमा सञ्चालन

यो अक्सिजन प्लान्टले कोरोना संक्रमितको उपचारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । अहिले पनि आईसीयूमा राखेर उपचार गर्नु पर्ने र अक्सिजनको आवश्यकता पर्ने अन्य बिरामीका लागि यो प्लान्टले सघाइरहेको छ । खर्चको हिसावले लिक्विडभन्दा आफैं अक्सिजन उत्पादन गर्ने प्लान्ट बढी उपयुक्त हुने अस्पतालको भनाइ छ ।

यी दुई प्रतिनिधि अस्पताल हुन्, जहाँ कोरोना महामारीको समयमा अक्सिजन प्लान्ट जडान गरिएको थियो । काठमाडौंमै वीर, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल लगायतका अस्पतालमा त्यतिबेला अक्सिजन प्लान्ट जडान गरिएको थियो । अहिले पनि धेरै जसो अक्सिजन प्लान्ट सञ्चालनमै हरेको स्वास्थ सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको भनाइ छ ।

अक्सिजनमा अस्पताल स्वयं आत्मनिर्भर हुनेगरी अक्सिजन प्लान्ट जडानमा जोड दिएर कोरोना महामारीमा काम भएको थियो । सरकारले अक्सिजन प्लान्टको अवस्था दुरुस्त भएको दाबी गरे पनि कोरोना महामारीमा देखिएको अक्सिजनको चरम अभावको कहाली लाग्दो अवस्था धेरैले बिर्सिसकेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *