Main News

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २६ गते २०:४८
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ (भिडियो रिपोर्टसहित)

२६ भदौ २०८० काठमाडौं । संविधानसभाका अध्यक्षा एवम् नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राजनीति वृत्त शोकमा छ। बालुवाटारस्थित निवासमै हृदयघात भएपछि अस्पताल लानेक्रममा नेम्वाङको आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज नपुग्दै बाटोमै निधन भयो।

नेम्वाङको निधनसँगै देशले एउटा आदर्श र इमान्दार राजनीतिज्ञ गुमाएको छ। राजनीति, प्राध्यापन र वकालतलाई सँगसँगै अघि बढाउनुभएका नेम्वाङले संविधान निर्माणमा खेलेको भूमिकापछि शालिन व्यक्तित्वको उपनाम पाउनुभएको थियो । ५ दशकको राजनीतिक यात्रामा नेम्वाङ, कहिल्यै नहराउने सुवास बनेर अन्ततस् अस्ताउनुभएको छ ।

सधैँ गम्भीर मुद्रामा देखिनुहुन्थ्यो, सुवास नेम्वाङ । हरेक विषयमा सोचेर, पर्गलेर बोल्ने उहाँको गुण थियो । एमालेका लागि मियो, अन्य दलका लागि कानुनविद् नेम्वाङ ७१ वर्षको उमेरमा मंगलबार ब्रम्हलीन हुनुभएको छ । २००९ सालमा इलामको सुन्तलाबारीमा जन्मनुभएका सुवासले २० वर्षको उमेरदेखि नै राजनीतिक यात्रामा सक्रिय हुनुभयो ।

२०४८ सालमा राष्ट्रियसभाको सदस्य हुनुभएका नेम्वाङ त्यसबेला नै सांसद चुनिनुहुन्थ्यो । तर कलिलो उमेर बाधक बनिदियो । नेम्वाङ २०५१ मा मनमोहन अधिकारी नेतृत्वको लोकप्रिय सरकारका कानूनमन्त्री हुनुहुन्थ्यो। एमाले विभाजनका बेला २०५६ सालको आमनिर्वाचनमा इलाम–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि संसद्‍मा उहाँको भूमिका बढेको थियो। सार्वजनिक लेखा समितिको सभापति पद उहाँको लोकप्रियताका लागि कोशेढुंगा सावित भयो ।

किनकी नेम्वाङले तत्कालीन समयमा बहुचर्चित लाउडा काण्डको छानबिन गराउनुभएको थियो। संसदीय समितिमा पत्रकारले सहज पहुँच पाएको पनि त्यही बेलादेखि हो। संसदीय मामिलामा कलम चलाउने पत्रकारहरूले सदैव उहाँलाई आफ्नो अभिभावक ठान्छन्। २०५६ साल यताका सबै आमनिर्वाचनमा उहाँले इलाम(२ कै प्रतिनिधित्व गर्नुभयो। २०६२–६३ को जनआन्दोलन संयोजन समितिको सदस्यका रूपमा उहाँले लोकतान्त्रिक आन्दोलनको अगुवाइ गर्नुभयो ।

जनआन्दोलनको बलमा पुनर्स्थापित संसद्को नेतृत्व गर्दै २०६३ जेठ ४ गतेको ऐतिहासिक घोषणामार्फत तत्कालीन राजाका सबै अधिकार कटौतीको घोषणा गर्ने नेम्वाङ नै हुनुहुन्थ्यो । हिन्दु राष्ट्र मुलुकलाई धर्म निरपेक्ष भएको घोषणा गर्नुभएका नेम्वाङले सधैँ यसको अपजस भने खेपिरहनु नै भयो । वृहत् शान्ति सम्झौता र अन्तरिम संविधानअनुसार तत्कालीन विद्रोही माओवादी सम्मिलित व्यवस्थापिका संसद्को नेतृत्व गरेर ुव्यवस्थापिका संसद्ु सञ्चालन गर्ने अभिभारा उहाँकै काँधमा आएको थियो ।

जस्तासुकै राजनीतिक विवादलाई पनि संवादबाट सल्टाउने प्रयास गर्ने, प्रधानमन्त्रीदेखि विद्रोही नेतालाई संसद् भवनमै मिलापत्र गराएर सदन सञ्चालनमा कुनै अवरोध आउन नदिने नेम्वाङको काम अविष्मरणीय छ । संसद पुनर्स्थापनादेखि संविधान जारी हुँदासम्म सभामुखको पदको गरिमा बढाउनुभएका नेम्वाङ सभामुख भनेकै सुवास हो भन्ने भाष्य स्थापित गर्न पनि सफल हुनुभयो । मृत्युपछि व्यक्तिको सद्गुण गाउने चलन नै छ । तर सुवास अपवाद बन्दै आफ्नो कामले र पदको गरिमा राखेर सबै दलका लागि स्मरणीय बन्नुभएको छ ।

२०४८ देखि हालसम्म लगातार सांसद रहेका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिव पनि बन्नुभएको थियो । राज्यबाट संविधानसभा पदक, राष्ट्र गौरव पदक पाउनुभएका नेम्वाङले गणेशमानसिंह जनआन्दोलन स्वर्ण पदक पनि पाउनुभएको थियो । संविधान जारी भएपछि सभामुख पदबाट हटेसँगै एमाले संसदीय दलको उपनेताका रूपमा भन्दा बढी सबैको साझा नेताका रूपमा उहाँले संसदीय भूमिका निर्वाह गर्नुभयो। सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउने उहाँको प्रयासले सार्थकता नपाउँदै उहाँ अस्ताउनुभएको छ ।

राजनीतिक वृत्तले असल राजनीतिज्ञ गुमाइरहँदा एमालेले कानुनविद् गुमाएको छ । अध्यक्ष केपी शर्मा ओलीले असल साथी र कानुनी सल्लाहकार गुमाउनुभएको छ । भलै नेम्वाङ हुँदै ओलीले दुई पटक संसद विघटन गर्दा नेम्वाङले रोक्न सक्नुभएन । तर उहाँले संविधान निर्माण र राजनीतिमा खेल्नुभएको भूमिकाले यी गल्तीलाई गौण बनाइिदएको छ । भविष्यको प्रधानमन्त्री, एमालेको अध्यक्षका सम्भावित उम्मेदवार मानिएका नेम्वाङ प्रधानमन्त्री प्रचण्ड र हालको सत्ता गठबन्धनकै कारण राष्ट्रपति बन्नबाट भने चुक्नुभयो ।

यदि पुस १०मा बनेको गठबन्धन कायम रहन्थ्यो भने नेम्वाङ मुलुकको राष्ट्रपति बन्नुहुन्थ्यो सायद । तर पनि जीवनको ५ दशकको राजनीतिक यात्रामा नेम्वाङले ती सबै अवसर पाउनुभयो । जसका लागि निकै ठूलो संघर्ष आवश्यक पर्छ । तर हरेक भूमिकामा अब्बल सावित हुनुभएका नेम्वाङ अन्ततस् ७१ वर्षको उमेरमा भौतिक संसारबाट बिदा हुनुभएको छ । तर आफ्नो नाम जस्तै राजनीतिमा सुवास छरेर नेम्वाङ सदाका लागि अस्ताउनुभएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *