शिलान्यासको तीन वर्ष, मोतिपुर औद्योगिक क्षेत्रको काम अझै भएन शुरु (भिडियो रिपोर्टसहित)

२०८० भदौ २६ गते २०:४०
शिलान्यासको तीन वर्ष, मोतिपुर औद्योगिक क्षेत्रको काम अझै भएन शुरु (भिडियो रिपोर्टसहित)

२६ भदौ २०८० रुपन्देही । कुनै पनि आयोजनाको ठेक्का प्रक्रिया, वित्तीय श्रोत सुनिश्चितता, डिपीआर र वातावरणीय प्रभाव मूल्यांकन भएपछि मात्र शिलान्यास गर्ने परम्परा छ । तर, आफ्नो पद कतिबेला जाला भन्ने त्रासमा रहने नेता उल्लेखित कुनै पनि प्रक्रिया पूरा नगरी शिलान्यासमा हतारिने गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर यस्तै लहर चलाउनुभएको थियो । यही लहरमा शिलान्यास गरिएको मोतिपुर औद्योगिक क्षेत्रको काम अझैसम्म अघि बढेको छैन ।

रुपन्देहीमा २०७७ साल फागुनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले स्थानीयको अवरोधका बीच मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । वातावरणीय प्रभाव मूल्याङ्कन समेत नगरी हतार हतारमा औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो ।

शिलान्यास भएको एक महिना भित्र उद्योग स्थापनाको लागि आशय पत्र आह्वान गर्ने, उक्त आह्वान पत्रको आधारमा ६ महिना भित्र उद्योगीहरूलाई चाहिने न्यूनतम् पूर्वाधारको व्यवस्थापन गर्ने गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले रोडम्याप तयार पारेको थियो । तर स्थानीयलाई व्यवास्ता गरेर शिलान्यास गरिएको परियोजनाको काम तीन वर्षमा पनि अघि बढेको छैन ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शिलान्यास भएको २ वर्ष भित्र त्यस क्षेत्रमा उद्योग संचालनमा ल्याउने र ५ वर्ष भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएको थियो । तर जग्गा विवाद हुँदा औद्योगिक क्षेत्रको काम ठप्प छ ।

बुटवल उपमहानगरपालिकाको अगुवाइमा मोतिपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गत मंसिर र पुसमा जग्गाको यकिन गर्न ११ दिन ड्रोनबाट सो क्षेत्रका जग्गा नापजाँच गरेको थियो । रिपोर्ट औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइएको छ । त्यो बाहेक अरू प्रक्रिया अगाडि बढेको छैन ।

मोतिपुर औद्योगिक क्षेत्रको अझै वातावरण प्रभाव मूल्यांकन गर्न बाँकी छ । २०७२ मा मन्त्रिपरिषद्को बैठकबाट सातवटै प्रदेशमा एक हजार बिघाका ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरे अनुसार बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाको ८१३ बिघा क्षेत्रफलमा मोतिपुर औद्योगिक क्षेत्र बनाउने घोषणा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *