नेवार समुदायमा गुँःला पर्वको रौनक (भिडियो रिपोर्टसहित)
२० भदौ २०८० काठमाडौं । साउन शुक्ल प्रतिपदादेखि शुरु भएको नेवार समुदायका बौद्धमार्गीले गुँःला पर्व मनाइरहेका छन् । यो पर्वमा हरेक बिहान न्याँखी बाजासहित विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यको परिक्रमा गरिन्छ ।
बिहान सबेरै, काठमाडौंका नेवार समुदाय खासगरि शाक्य बसोबासी टोल(टोलमा एउटा बाजा बज्छ । बिहान साढे ४ बजे नै न्याँखी बाजा बजाइन्छ । शुरुवाती बाजा बजाउनुको अर्थ हो, टोलका सबैलाई भेला हुन आह्वान गर्नु । यो बाजा बजेपछि टोलका बालबालिका, युवा, ज्येष्ठ नागरिक स्वतःस्फूर्त घरबाट निस्कन्छन् ।
कसैका हातमा पूजा सामग्री हुन्छ त कसैको हातमा बाजा । नेवार समुदायका बौद्ध धर्मावलम्बीले सबेरै उठेर काठमाडौंभरिका बौद्ध बिहारको परिक्रमा गर्ने गर्दछन । बाजाको धुनसँगै स्वयंम्भु परिक्रमा सकेर यो समूहले धार्मिक ग्रन्थ पढ्दै फेरी परिक्रमा गर्छन् ।
साउन महिना अर्थात साउन शुक्ल प्रतिपदादेखि शुरु भएको गुँःला पर्व भदौ शुक्ल प्रतिपदाको दिन समापन हुन्छ । पर्वमा पितृ भइसकेका घरका सदस्यको आत्मशान्तिसहित बौद्ध बिहारका देवता र देवताका गरगहना सुरक्षित भए नभएको हेर्नका लागि बिहार परिक्रमा सुरु भएको किम्वदन्ती छ ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो। यसरी गुँःलाको अर्थ नवौं महिना हो। नेपाल सम्वतको नवौं महिनामा मनाइने भएकाले यो पर्वलाई गुँःला पर्व भन्ने गरिएको हो।
पर्वको अवसरमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ । राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने चलन छ । यो पर्व अवधिभर माछा मासु, जाँडरक्सी, गुन्द्रुक खान नहुने नियम छ । परम्परागत गुँला पर्व नयाँ पुस्ताले बिर्सने चिन्ता भने बढ्दो छ ।
काठमाडौं महानगरपालिकाले पर्व मनाउनका लागि आर्थिक सहयोग गरिरहेको छ । संकृति जोगाउने महानगरको प्रयासलाई स्थानीयले प्रशंसा गरेका छन ।
गुँःला पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गरिन्छ । यो पर्व सकिएपछि नेवार समुदायले इयँला महिना पनि विशेषरूपमा मनाउँछन् ।
प्रतिक्रिया