कर्मचारी नहुँदा सुदूरपश्चिममा आयात ठप्प (भिडियो रिपोर्टसहित)

२०८० भदौ २० गते १६:४९
कर्मचारी नहुँदा सुदूरपश्चिममा आयात ठप्प (भिडियो रिपोर्टसहित)

२० भदौ २०८० कैलाली । कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टिन कार्यालय कर्मचारीविहीन छ । कार्यालयमा कर्मचारी नहुँदा तीन सातादेखि खाद्यान्न, तरकारी र फलफुलको आयात नाकामै रोकिएको छ ।

भन्सारमै कर्मचारीको व्यवस्थापन नहुँदा बजारमा व्यवसायी नेपालगञ्जको रुपैडिया नाकाबाट सामान आयात गर्न बाध्य छन् । जसले गर्दा चाडबाडको मुखमा महँगी बढ्ने सम्भावन बढेको छ ।

सुदूरपश्चिमको प्रमुख नाकाका कैलालीको त्रिनगर भन्सार नाकाको प्लान्ट क्वारेन्टिनमा कर्मचारी छैनन् । गत महिना यहाँ रहेका दुई जना कर्मचारी अन्यत्र सरुवा भएका छन् । रिक्त स्थानमा महेन्द्रनगरबाट बोलाइएका कर्मचारीलाई धनगढी आउन रोकेपछि अहिले त्रिनगर नाकाबाट खाद्यान्न, तरकारी र फलफुलको आयात बन्द छ ।

विकल्पका रुपमा रहेको गड्डाचौकी नाकामा ठूला मालवाहक सवारी साधन प्रवेशमा रोक लगाइएका कारण व्यवसायी तेस्रो विकल्पका रुपमा बाँकेको रुपैडिया नाका प्रयोग गर्न बाध्य छन् । तर, यहाँबाट आयात गर्दा आयातित वस्तुमा महँगो ढुवानी भाडा थपिँदा व्यवसायीको लागत बढ्न गएको छ । जसको सिधा असर उपभोक्ताले भोगेका छन् । उनीहरुले सहज रुपमा आयात हुने वातावरण बनाउन माग गरेका छन् ।

प्लान्ट क्वारेण्टिन कार्यालयले आयात हुने खाद्यान्न, तरकारी र फलफूलमा जाँच गरेपछि मात्रै सो वस्तु नेपाल भित्रिने गर्छ । तर अहिले एक जना कार्यालय सहयोगी मात्रै कार्यालय कुरेर बसेका छन् ।

प्लान्ट क्वारेन्टिन कार्यालयले नेपाल आयात हुने खाद्यान्न, तरकारी र फलफूलमा कीराजन्य संक्रमण चेकजाँच गरेपछि प्रयोग योग्य सामग्री आयात गर्न अनुमति दिन्छ । उद्योगी व्यवसायीहरूले प्रदेशका मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारीसहितका निकायमा क्वारेन्टिन सञ्चालनको माग गरेका छन् । तर, संघीय सरकार मातहतको यो कार्यालय खुलाउने विषयमा कतैबाट कसैले पहल नगरेको व्यवसायीको गुनासो छ ।

प्रमुख, खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, कैलाली
यो नाकाबाट गत आर्थिक वर्षामा एक अर्ब १८ करोड १८ लाख रुपैयाँ बराबरको फलफूल तथा तरकारी र १ अर्ब २१ करोड ९१ लाख रुपैयाँको खाद्यान्न आयात भएको थियो । जसबाट २७ करोड ५२ लाख राजश्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *