पोखरेली नेवार समुदाय बाघ जात्राको रमझममा (भिडियो रिपोेर्टसहित)

२०८० भदौ २० गते ७:२४
पोखरेली नेवार समुदाय बाघ जात्राको रमझममा (भिडियो रिपोेर्टसहित)

२० भदौ २०८० कास्की । गाइजात्रा मनाएको एक साता नहुँदै पोखरेली नेवार समुदाय बाघ जात्राको रमझममा छन् । भैरवजात्रा, गाईजात्रा, गणेश जात्रा, माघे जात्रा मनाउँदै आएका पोखरेली नेवार समुदायका लागि यो वर्षको बाघजात्रा विशेष छ । त्यसैले यो पटकको बाघजात्रा तीन दिन मनाइँदैछ ।

२३ वर्षपछि पोखरेली नेवार समुदायले यसपाली बाघजात्रा मनाएको छ । डोलीमा रानी साथमा राजा, प्रधानमन्त्री, प्रधानसेनापति, मन्त्रीसहित सेना प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी ९बच्चाहरु समेटिएको सेनाको टुकडी० र स्थानीय लस्करै लागेका छन् । धनुष, तरबार र अन्य हतियार सहित सेनाको टुकडी एउटै बस्त्रमा सजिएका छन् ।

बाजाको तालामा तायाः मचा, कुमारी, लाखे र घोडा नाचको रौनक, सयौंको संख्यामा जनताको हूल बाँधेर बाघलाई घेरा हाल्न खोज्छन् ।

यो जात्राको सुरुआत मानिस र बाघको द्वन्द्वसँग जोडिएको छ । गाउँ गाउँमा बाघले धेरै दुःख दिएपछि राजालाई यसबारे जानकारी दिइएको र राजाले सेनासहित आएर बाघ मारेको खुसीयालीमा जात्राको चलन चलेको किम्वदन्ती छ । जस अनुसार सोमबार र मंगलबार सैनिकले गौँडा–गौँडामा गई खोजेर ल्याएको बाघ बुधबार मारिन्छ । बाघ मरेको खुसियालीमा बाघजात्रा मनाउने चलन बसेको हो ।

विभिन्न रमाइला, रोचक र संस्कृती झल्कने यी क्रियाकलापसहितको जात्रा पोखरामा २३ वर्ष पछि निकालिएको हो । नालाको मुखमा रहेको नेवाःछेबाट सुरु भएको जात्रामा नेवारी समुदायले अगुई गरे पनि विभिन्न समुदायका मानिसहरुले पनि विभिन्न भूमिकामा रहेर सहयोग गर्दै आएका छन् ।

१९९० सालदेखि मनाउन थालिएको विश्वास गरिएको बाघजात्रा पछिल्लो पटक २०५७ मा मनाइएको थियो । जात्राका लागि तीन महिनाको तयारीपछि एक सयभन्दा बढी कलाकार सहभागी छन् । निकै खर्चिलो भएका कारण निरन्तरता पाउन नसकेको यो जात्रालाई अहिले स्थानीय सरकारले सहयोग गरेको हो ।

आर्थिक अभावकै कारण शंकटमा पर्न लागेको पोखराको ऐतिहासीक बाघजात्रालाई ५र५ वर्षमा संचालन गर्ने गरी आर्थिक संकलन थलिएको समितिले जनाएको छ । पोखरा महानगरपालिकाले पनि जात्राका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए पछि जात्राले निरन्तरता पाउने आशा भने बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *