बाँदर आतंक : बाँदरको संरक्षण र किसानलाई मर्का पनि नपर्ने उपाय के हुन सक्छ त ? (भिडियो रिपोर्टसहित)
१८ भदौ २०८० काठमाडौं । पहाडी जिल्लाका किसानहरुलाई बाँदरले वर्षौँदेखि दुःख दिँदै आएको छ । वर्षेनी बाँदरले दुःख दिन थालेपछि किसानहरुले कि क्षतिपूर्ति दिन नभए आतंक रोक्न सरकारले पहल गरिदिनुपर्ने बताउँदै आएका छन् । यो समस्यामा अहिले संसदीय समितिमासमेत बहस सुरु भएको छ । बाँदरको संरक्षण पनि हुने र किसानलाई मर्का पनि नपर्ने उपाय के हुनसक्छ त ?
४ महिनाअघि नेपाली कांग्रेसका सांसद धनराज गुरुङले बाँदर आतंकका लागि सरकारलाई दिएको सुझाव हो यो । जतिबेला यो सुझावको आलोचना पनि भयो । स्याङ्जाबाट निर्वाचित सांसद गुरुङले आफ्नै क्षेत्रका जनताले बाँदरबाट भोगेको सास्ती देखेरै बाँदर निर्यातको उपाय सुझाउनुभएको थियो ।
अहिले पुनः बाँदर नियन्त्रणको अर्को उपाय चर्चामा आएको छ । संसदको कृषि समितिमा बाँदर आतंकले किसानलाई मार परेको भन्दै समिति सभापतिले बाँदरलाई बन्ध्याकरण गर्न सकिने धारणा राख्नुभयो । छिमेकी देश भारतको उदाहरण दिँदै उहाँले बन्ध्याकरणको उपाय अपनाउन सकिने बताउनुभयो ।
नेपालको वन जंगलमा कति बाँदर छन् रु कुन कुन जातका छन् रु भन्ने विषयमा विश्वासिलो तथ्याङ्क वन मन्त्रालय वा वन्यजन्तु संरक्षण निकायहरूसँग पनि छैन । तर वर्षैपिच्छे जब बालीमा फल लाग्ने बेला हुन्छ तब बाँदर गाउँ बस्ती पसेर आतंक फैलाइहाल्छ ।
बाँदर धपाउन लखेट्ने, ढुंगाले हिर्काउने, गुलेलीले हान्ने, बन्दुक पड्काउने, थुन्ने, छेक्ने आदि अनेक उपाय गर्दा पनि किसानको केही सिप लागेको छैन । खेतीपाती बाँदरले नै स्वाहा पारिदिन थालेपछि वर्षभरि गुजारा चलाउनसमेत धौधौ पर्ने अवस्था आएपछि कतिपय आफ्नो थातथलो समेत छोड्न बाध्य छन् । के बाँदर नियन्त्रणको उपाय विदेश निर्यात वा बन्ध्याकरण हो त रु
पहाड र ग्रामिण क्षेत्रमा मात्र होइन काठमाडौं उपत्यकामा मात्र हाल १ लाखभन्दा बढी बाँदर रहेको अनुमान छ। त्यसमध्ये स्वयम्भु क्षेत्रमा मात्र ३० हजारको हाराहारीमा बाँदर छन् । यो संख्या वर्षेनी बढिरहेको छ ।
बाँदर व्यवस्थापनका नाममा एक ठाउँको बादर अर्को ठाउँमा लगेर छाड्ने काम कतिपय पालिकाले गरेका छन्, तर त्यसले दीर्घकालीन समाधान दिन सकेको छैन । यो समस्या जारी रहँदा कुन उपायले बाँदर आतंक घटाएर किसानको अन्नबाली जोगाउन सकिन्छ भन्नेमा सरकार गम्भीर हुन आवश्यक छ ।
प्रतिक्रिया