सिम्रोनगढ नगर अस्पताल, पालिकाको द्वन्द्वको मारमा (भिडियो रिपोर्टसहित)
१८ भदौ २०८० बारा । बाराको सिम्रौनगढ नगरपालिका–७ सिम्रौनगढस्थित नगर अस्पताल डेढ महिनादेखि बन्द छ ।
तलब भत्ताको माग गर्दै स्वास्थ्यकर्मी र कर्मचारीहरूले गरेको तालाबन्दीका कारण गत असार ३१ गतेदेखि अस्पतालको सेवा ठप्प छ । नगरपालिकाको नेतृत्व र कार्यपालिका सदस्यबीचको विवादका कारण अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिँदा बिरामी मर्कामा परेका छन् ।
बाराको सिम्रौनगढ नगरअस्पताल बन्द भएको डेढ महिना हुँदा संचालनका लागि कसैले चासो देखाएका छैनन् । स्वास्थ्यकर्मी र कर्मचारीहरु तलब भत्ताको माग गर्दै अस्पतालमा ताला लगाएर धर्नामा छन् । नागरिक भने सामान्य उपचारका लागि पनि भारतसम्म पुग्न बाध्य छन् ।
नगरपालिकामा प्रमुख किशोरीप्रसाद साह कलवार र कार्यपालिकाको बहुमत सदस्यबीच द्वन्द्व छ । यही द्वन्द्वका कारण नगरपालिकाले गत असार १० भित्र ल्याउनुपर्ने वार्षिक बजेट समेत ल्याएको छैन । यही द्वन्द्वको चपेटामा नगर अस्पताल पनि परेको हो । नगरप्रमुखले करारमा कार्यरत कर्मचारी हटाउने भनेपछि कार्यपालिका भित्रै विवाद छ । अर्कोतर्फ कतिपय कर्मचारीले १५ महिनासम्मको तलबसमेत पाएका छैनन् ।
नगरमा लोसपा तर्फका प्रमुख, उपप्रमुख र कार्यपालिकामा नेपाली काँग्रेस तर्फका बहुमत सदस्य भएकाले द्वन्द्व बढेको हो । नगरपालिकाले भने अस्पताल सञ्चालनका लागि हालसम्म ९६ लाख रुपैँया उपलब्ध गराइसके पनि रकमको खर्च विवरण अस्पतालले नदिएपछि समस्या भएको दाबी गर्छ ।
२०७८ जेठमा सेवा सुरु गरेको १५ शैयाको अस्पतालबाट सिम्रौनगढ र आसपासका सर्वसाधारणले सेवा पाउँदै आएका थिए । तर अहिले अस्तालमा ताला लागेपछि बिरामीलाई समस्या भएको छ । अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी २४ जना कार्यरत छन् । उनीहरु मध्ये चार जना स्थायी र बाँकी करार तथा अस्थायी ज्यालादारीमा कार्यरत छन् ।
प्रतिक्रिया