Main News

बालेनको आक्रोशबारे विभिन्न खाले टिप्पणी (भिडियो रिपोर्टसहित)

२०८० भदौ १७ गते २०:५४
बालेनको आक्रोशबारे विभिन्न खाले टिप्पणी (भिडियो रिपोर्टसहित)

१७ भदौ २०८० काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिनु भएको छ ।

सिंहदरबारमा आगो लगाई दिने धम्की दिँदै सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेको अभिव्यक्तिका कारण साहलाई फौजदारी अभियोगमा जेल सजाय हुन सक्ने कानुनका जानकार बताउँछन् ।

शनिवार राति ९ बजेर २१ मिनेटमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको स्टाटस हो यो । सार्वजनिक पद धारण गरेको व्यक्तिले लेख्न मिल्ने भाषा हो त यो, एक पटक फेरि हेर्नुहोस्, साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस् ।

यसै त महानगरप्रमुख साहको शुक्रवार र शनिवार राति आउने स्टाटसलाई लिएर धेरैले शंका गर्छन । हुन पनि शुक्रबार र शनिबार आउने साहका अभिव्यक्ति अराजक र उत्ताउलो हुन्छन् । शनिबार राति सिंहदरबार नै जलाउने धम्की दिने साहले दिएका यसअघिका अभिव्यक्ति पनि सामान्य नागरिकलाई पनि पाच्य नहुने किसिमका छन ।

साहले शनिबार दिएको यो धम्की सामान्य नैतिक प्रश्न मात्रै नभएर गम्भीर फौजदारी अभियोग लाग्ने कसुर भएको कानूनका जानकार बताउँछन् । सामान्य नागरिकले सिंहदवार जलाउँछु भन्ने अभिव्यक्ति दिएको भए तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्ने अवस्था आउने कानूनका जानकार बताउँछन । तर बालेन्द्र साहको अभिव्यक्ति राज्यविरुद्धको अपराधजन्य फौजदारी कसुर भएकाले राज्यका निकायले नै अनुसन्धान गर्नु पर्ने अधिवक्ताको मत छ ।

विगतमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुको सामाजिक सञ्जालमै आलोचना गरेकै आधारमा प्रहरीले कति निमुखा नागरिकलाई पक्राउ गरि जेलसम्म पुराएको छ । तर साहको हकमा प्रहरीले के गर्छ भन्ने प्रश्न गम्भीर बनेको छ ।

साहले आफ्नो स्टाटसमा महानगरपालिकाका कुनै पनि गाडी रोकेको अवस्थामा सिंहदरवारमा आगो लगाइदिने धम्की दिएको भए पनि घटनाको पृष्ठ भूमि खुलाउनु भएको छैन् । तर उहाँले स्टाटस लेख्नु केही समय अघि शनिबार नै महानगरपालिकाको गाडी बालकुमारीबाट कोटेश्वरतर्फ आउँदै गर्दा बीचमा ट्राफिक प्रहरीले सामान्य सोधपुछ गरेर छाडिदिएको थियो । शनिवार सरकारी नम्बर प्लेटको गाडी अबेर राति सडकमा देख्दा नियमित जाँचमा रहेको प्रहरीले सोधपुछ गर्नु सामान्य घटना भएको ट्राफिक प्रहरी बताउँछ ।

शनिबार वा सार्वजनिक बिदाको दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन । व्यक्तिगत प्रयोजनमा पनि सरकारी गाडी निषेध छ । चलाउनै पर्ने भए, पास लिनुपर्छ । २०७९ साल साउन ४ गते गृहमन्त्रलायले यो निर्णय गरेको हो । कार्यालय प्रयोजनको लागि चलाउनु पर्ने सरकारी गाडी रातिको समयमा सडकमा देखिँदा ट्राफिक प्रहरीले सोधपुछ गर्नु सामान्य हो । ट्राफिक प्रहरीलाई सहयोग गर्नु नागरिकको कर्तव्य हो, न कि पद र शक्तिको रवाफ देखाउनु ।

महानगरपालिकाको गाडीमा साहकी पत्नी सबिना काफ्ले सवार रहेको र ट्राफिक प्रहरीले सामान्य सोधपुछ गरेपछि आक्रोशित भएर साहले सिंहदवार जलाउँछु भन्ने अभिव्यक्ति दिएको हुन सक्ने अनुमान गरिएको छ । तर समाजिक सञ्जालमा वकिल र न्यायाधीश बनेर बहस गर्ने र फैसला गर्नेको कमी छैन । सामाजिक सञ्जालमा चर्को बहसपछि प्रमुख साहको सचिवालयले घटनाबारे प्रष्टीकरण त दिएको छ तर सिंहदरबार जलाउने अभिव्यक्तिप्रति मौन बसेको छ ।

सिंहदवारमा बस्ने व्यक्तिहरु खराब छन् भने उनीहरुलाई परिर्वतन गर्न सकिन्छ । गलत प्रमाणित भए दण्डनीय पनि हुन्छन् । तर जनताको सम्पत्तिमा आगो लगाउछु भन्ने अभिव्यक्ति दिनु अराजकताको पराकाष्ठा हो । यसतर्फ राज्यको निकायको गम्भीर रुपमा ध्यानाकृष्ट हुनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *