भक्तपुरमा जात्राको रौनक : परम्परा संरक्षणमा युवाको सहभागिता (भिडियो रिपोर्टसहित)

१६ भदौ २०८० काठमाडौं । काठमाडौं उपत्यकाका हरेक वस्ती र चोकहरुमा फरक फरक जात्रा र परम्परागत मेलाहरु लाग्ने गरेका छन् ।
भक्तपुरको थिमीमा यतिबेला मल्लकालीन नीलबाराही र भैरव नाच चलिरहेको छ । आधुनिकतासँगै आफ्नो मौलिक परम्परा संरक्षणमा युवाको सहभागिता पनि उत्तिकै छ ।
भैरवसहित चार बाराही, चार कुमारी, चार सिंह, दुई द्वारपाल र चार गणेशगरी १९ देवगण यतिबेला मध्यपुर थिमीमा नाचिरहेका छन् । १९ देवता, ६ गुरु, १९ देवताका सहयोगी, बाजा बजाउने नौ जनाको नाचमा प्रत्यक्ष संलग्न छन् । मल्लकालीन पुरानो यो जात्रा हरेक वर्ष गाईजात्रा अर्थात् सापारुको भोलिपल्ट द्वितीयादेखि पञ्चमीसम्म चल्छ ।
मध्यपुरथिमि नगरपालिकामा तीन दिन चार रातसम्म चल्ने नीलबाराही र भैल प्यांख अर्थात् भैरव नाच नेवा समुदायको मौलिक नाच हो ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक नीलबाराही, लायकू भैरव नाच हेर्न विदेशी पर्यटकसहित देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् ।
बोडेको लाकुछेबाट सुरु भई लाछी, लाकुछेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुनः खासी टोल भएर लाकुछेँमा आएर मुकुण्डो निकालेपछि जात्रा सम्पन्न हुन्छ । सबै टोलको चोकमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने र यहाँका बासिन्दाले पूजा एवं दान–दक्षिणा दिने परम्परा छ ।
दैनिक १० देखि १४ घण्टासम्म परम्परागत नियममा बाँधिएर नाच्नुपर्ने नीलबाराही नाचमा सहभागी हुने देवगणले नाच अवधिभर खान, भुइँमा बस्न, अन्यत्र बोल्न मिल्दैन भने जुत्तासमेत लगाउन पाउँदैनन् । मल्लकालीन तान्त्रिक लाय्कू भैलः अर्थात् भैरव नाचको साँस्कृतिक महत्व अझै उस्तै छ ।
प्रतिक्रिया