सुदूरपश्चिम प्रदेशसभा बिजनेशविहीन (भिडियो रिपोर्टसहित)

२०८० भदौ १६ गते २०:३६
सुदूरपश्चिम प्रदेशसभा बिजनेशविहीन (भिडियो रिपोर्टसहित)

१६ भदौ २०८० कैलाली । सुदूरपश्चिम प्रदेशसभाको काम मुख्यमन्त्रीलाई विश्वासको मत दिनु र बजेट पारित गर्नुमा सीमित भएको छ । प्रदेशसभाको दोश्रो कार्यकालमा दुई जना मुख्यमन्त्रीले विश्वासको मत लिएका छन ।

प्रदेश सभाले चालू आर्थिक वर्षका लागि बजेट पारित गरेको छ । सरकारले बिजनेस नदिँदा प्रदेश सभाले जनतासँग प्रत्यक्ष जोडिएका कानून निर्माण भने गर्न सकेको छैन ।

असार ३० गते प्रदेश सभाले आर्थिक वर्ष २०८०–०८१ को बजेट पारित गर्‍यो । त्यसपछि स्थगित भएको प्रदेश सभा बैठक एक महिनापछि बस्यो । प्रदेशसभामा बजेट प्रस्तुतपछि भदौ ४ गते बसेको प्रदेशसभा बैठकमा दलकातर्फबाट सांसदहरुले धारणा राखे । त्यसपछि अनिश्चितकालका लागी स्थगित प्रदेशसभा बैठक कहिले बस्ने यकिन छैन । बिजनेस नहुँदा प्रदेशसभा बैठक आह्वान गर्न ढिलाइ भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

पछिल्लो सात महिनामा सुदूरपश्चिम प्रदेशसभाले कुनै पनि कानून निर्माण गर्न सकेको छैन । प्रदेश सभाबाट सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८० र विनियोजन विधेयक, २०८० बाहेक कुनै पनि नयाँ कानुन प्रदेश सभाबाट पारित भएको छैन ।

यी दुई कानुन प्रत्येक वर्ष ल्याउनु पर्ने हुन्छ । त्यस बाहेक प्रदेश सभाबाट ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ संशोधन भएको छ । सरकारको अकर्मण्यता प्रदेश सभामा देखिएको प्रतिपक्षीको टिप्पणी छ ।

प्रदेश सभाले सभामुख र उपसभामुखको निर्वाचन र मुख्यमन्त्रीको विश्वासको मतलाई मात्रै प्राथमिकता दियो । पहिलो अधिवेशन जेठ ६ गते सम्पन्न भएर जेठ १३ गतेबाट दोस्रो अधिवेशन सुरु भएको थियो । पहिलो अधिवेशनमा सभामुख(उपसभामुख निर्वाचन र मुख्यमन्त्रीको विश्वासको मतमा मात्रै केन्द्रित भयो ।

एमाले नेता राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेपछि सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री हुनुभयो । प्रदेशसभा दोस्रो अधिवेशनमा नीति तथा कार्यक्रम र बजेटमा मात्रै केन्द्रित भयो । त्यसपछि कुनै बिधेयक नपाएको प्रदेशसभाले अब चाँडै बिधेयक पाउने अपेक्षा लिएको छ ।

लामो समयदेखि सुदूरपश्चिम प्रदेश सभा बैठक नबसेपछि प्रदेश सभा सदस्यहरू अहिले विभिन्न गोष्ठी, तालिम तथा सेमिनारमा व्यस्त छन् । फुर्सदकै समय निकालेर केही सांसदहरू अन्तर प्रदेश भ्रमणसमेत सकेर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *