Main News

प्रधानमन्त्रीको कुर्सीमा बसेर सडकको भाषा बोल्दै प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ १५ गते २१:१६
प्रधानमन्त्रीको कुर्सीमा बसेर सडकको भाषा बोल्दै प्रचण्ड (भिडियो रिपोर्टसहित)

१५ भदौ २०८० काठमाडौं । विगत ८ महिनादेखि मुलुकको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री हुनुहुन्छ पुष्पकमल दाहाल प्रचण्ड । तर उहाँका पछिल्ला भाषण सुन्ने हो भने उहाँले आफ्नो पदीय मर्यादा र दायित्व नबुझेको वा लापरबाही गरेको भान हुन्छ ।

माओवादी अध्यक्षका रुपमा क्रान्ति गरेका, विद्रोह गरेका र ठूला आन्दोलनको नेतृत्व गरेका प्रचण्डले प्रधानमन्त्री पदमा रहँदासमेत उस्तै व्यवहार र धङ्धङी देखाउँदा प्रधानमन्त्री पदमाथि नै प्रहार भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड सार्वजनिक मञ्चहरुमा बहकिनुहुन्छ, गति नै छाड्नुहुन्छ । बोलीकै कारण विवाद र आलोचना भए स्पष्टीकरण दिन पछि नपर्ने विशेषता पनि छ प्रचण्डसँग । तर प्रितम सिंह प्रकरणपछि सदनमा मागेको माफी र ‘ज्ञानुका बा’ शैली अझै उस्तै छ ।

पछिल्लो पटक संसदमा सिटसहितको समाजवादी मोर्चाको नेतृत्व र सत्ता टिकाउने खेलले फेरि प्रचण्डले प्रधानमन्त्रीको पदीय मर्यादा बिर्सन पुग्नुभएको छ । समाजवादी मोर्चाको प्रदेशगत भाषण समारोहमा उहाँ उधुम क्रान्तिकारी देखिन थाल्नुभएको छ । उहाँमा आफूले आफैंलाई बिर्सने बानी छ कि उत्तेजनामै बोल्दै हुनुहुन्छ रु कार्यकारी प्रमुखले बतासे कुरा बोल्दा पर्ने असरको जिम्मेवारी पनि उहाँले लिन पर्ला नि ।

तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डका पछिल्ला चार बेचैन अभिव्यक्ति हेरौं

१. एमसीसीमा दोधारे
२०७८ फागुन १५ गते एमालेको बहिस्कारबीच तत्कालीन संसदले १२ बुँदे ब्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्‍यो । एमसीसी पारितमा कम्मर कसेर लागेका र कार्यान्वयनमा जाँदा सरकारको नेतृत्व गरिरहेका प्रचण्डले यही भदौ १२ गते समाजवादी मोर्चाको बुटवल सभामा व्याख्यात्मक टिप्पणी कार्यान्वयन नभए सडक आन्दोलनमा उत्रिने धम्की दिनुभयो ।

२. लाखौँ जनता उतार्ने धम्की
भदौ १४ गते सुर्खेतमा त झन् कडा भाषण दिनुभयो प्रचण्डले । वर्षा सकिएपछि लाखौं जनता सडकमा उतार्ने उहाँको घोषणा छ। उहाँको यो भाषण कसलाई धम्की दिन वा घुर्की लगाउन हो खुलिसकेको छैन । के कामका लागि, कसका विरुद्ध र के नारा लगाउन जनता सडकमा आउने ? प्रचण्डको यो न्यूरो पोलिटिक्स जनताको आँखामा छारोबबाहेक केही होइन ।

३. प्रीतम सिंहको दिल्ली दौड
२०८० असार १८ गते सोमबार सरदार प्रीतम सिंहबारे लेखिएको पुस्तक विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले सिंहको योगदानको प्रसंशा मात्रै गर्नु भएन आफूलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली दौडिएको बताउनुभयो । यसले राजनीतिमा तरंग नै ल्यायो ।

४. कमजोर कूटनीति
जेठ ९ गते प्रधानमन्त्री प्रचण्डले कूटनीतिक ‘प्रोटोकल’को सामान्य हेक्का पनि नराखी अभिव्यक्ति दिनुभयो । भारत भ्रमण जानुअघि चिनियाँ राजदूतसँगको भेटको प्रसंग जोड्दै भन्नुभयो ‘पहिलो भ्रमणको निम्तो चीनबाटै आएको थियो। तर, मेरो अप्ठ्यारो देखेर चीनका राजदूतले पछि गरौं भन्नुभयो।’

२०६६ सालमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई ‘विषवृक्ष’ भनेको सन्दर्भ होस् या केही अघि उप–प्राध्यापक प्रेम चलाउनेसँग सम्बन्धित मुद्दा फिर्ता लिने प्रसंगमा किन नहोस्, प्रचण्डका अभिव्यक्ति विवादित मात्र रहेनन्, सरकार प्रमुखप्रतिकै अविश्वास चुल्याउने खालका छन्। प्रधानमन्त्री पदको दायित्व र जिम्मेवारी के हो, तेस्रो पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले अब कहिले थाहा पाउनुहोला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *