बिशेष

प्रधानमन्त्रीको अमेरिका भ्रमण, ऋण काढेर सयर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ १५ गते २१:०८
प्रधानमन्त्रीको अमेरिका भ्रमण, ऋण काढेर सयर (भिडियो रिपोर्टसहित)

१५ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल जम्बो टोलीको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते न्यूर्योक जाँदैहुनुहुन्छ । उहाँसँग परराष्ट्रमन्त्री, सुरक्षा परिषद्का सल्लाहकार लगायतका टोली छन् ।

नेपालबाट जाने टोली मात्र होइन, वासिङटनस्थित नेपाली राजदूतावास र संयुक्त राष्ट्र संघमा नेपालको स्थायी प्रतिनिधिको टोली पनि समावेश हुनेछ । यहाँबाट प्रधानमन्त्री र परराष्ट्रमन्त्री जाँदै गर्दा जम्बो टोली किन लगिन्छ ? के घुम्नैका लागि नेपाली टोली जान लागेको हो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालबाट २६ जनाको नाम तय भइसकेको छ । २० जनाभन्दा बढी अमेरिकास्थित नेपाली दूतावास र संयुक्त राष्ट्रसंघकालागि नेपाली स्थायी प्रतिनिधिको टोली सहभागी हुनेछ ।

को–को हुँदैछन् त सहभागी ?
–प्रधानमन्त्री
–परराष्ट्रमन्त्री
–राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार
–परराष्ट्र सचिव
–परराष्ट्रमन्त्रालयका अधिकारीहरु
–प्रधानमन्त्रीका प्रेस सल्लाहकार

यी विशिष्ट बाहेक पनि प्रधानमन्त्री–मन्त्रीका पिएसओ लगायत कर्मचारीहरु पनि अमेरिकको यात्रामा जानेछन् । तर, संयुक्त राष्ट्रसंघले बढीमा ५ जनाको खर्च ब्यहोर्नेछ । त्यसबाहेकका अन्यको खर्च सरकार आफैंले ब्यहोर्नुपर्छ । अर्थमन्त्रालय स्रोतका अनुसार एक जना बराबर ७ लाख रुपैयाँसम्म खर्च हुनआउँछ । खर्च कटौतीमा लागेको सरकारले यस्ता फजुलका भ्रमणमा अनावश्यक खर्च बढाउने गरेको छ ।

विदेश भ्रमण खर्च र दैनिक भत्ता सम्बन्धी कानूनी व्यवस्था रहेको छ । भ्रमण खर्च नियमावलीले दैनिक भत्तादेखि हवाई भाडासम्मको व्यवस्था गरेको छ । प्रधानमन्त्री, मन्त्री, सुरक्षा सल्लाहकार, सचिवले विजनेश क्लासको हवाइ टिकट पाउँछन् । सरकारले तोकेका बाहेकका बाँकी पदाधिकारी इकोनोमी क्लासमै यात्रा गर्नेछन् । त्यसबाहेक यही नियमावलीको अनुसूची ५ मा दैनिक भ्रमण भत्ता उल्लेख छ ।
तह रकम
अतिविशिष्ट २५० अमेरिकी डलर (दैनिक भत्ता)
विशिष्ट २२५ अमेरिकी डलर (दैनिक भत्ता)
प्रथम तह १७५ अमेरिकी डलर (दैनिक भत्ता)
द्वितीय तह १५० अमेरिकी डलर (दैनिक भत्ता)
त्रितीय तह १२५ अमेरिकी डलर (दैनिक भत्ता)
चौथो तह ९० अमेरिकी डलर (दैनिक भत्ता)

प्रधानमन्त्री प्रचण्डको टोली अमेरिकामा ५ दिन रहनेछ । अब हिसाब गरौं १२ सय ५० अमेरिकी डलर प्रचण्डले बुझ्नुहुनेछ । अर्थात आजकै रेट १३२ गण्ना गर्दा १ लाख ६५ हजार रुपैयाँ पाउनुहुनेछ । त्यसबाहेक विशिष्ट श्रेणीमा रहने परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारले पनि ११ सय २५ अमेरिकी डलरका दरले भत्ता पाउनुहुनेछ ।

एक जना बराबर १ लाख ४८ हजार रुपैयाँ राज्यको ढुकुटीबाट जानेछ । यी त माथिल्लो तहका मात्र भए अब २६ जनाले दैनिक भत्ता, उनीहरुको खान पान र घुमाइ आम नागरिकले खर्च ब्यहोर्दिनुपर्नेछ । तर भ्रमणमा सहभागी कसैको खास कामै हुँदैन । फोटो खिच्ने र अमेरिका आउन पाए नि भन्ने बाहेक केही हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्