विमानस्थल भन्सारका १३७ जना कर्मचारीले गरे सामूहिक सरुवा माग

१३ भदौ २०८० काठमाडौं । काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् १ सय ३७ कर्मचारीले सामूहिक रुपमा सरुवाको माग गरेका छन् ।
सुन तस्करी प्रकरणको छानबिनका नाममा आफूहरुलाई विनाकारण दुःख दिने काम भएको भन्दै भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीले सरुवाको माग गर्दै भन्सार विभागलाई सामूहिक पत्र पठाएका हुन् ।
गत साउनमा बरामद भएको ६० किलो सुन प्रकरणपछि आफूहरुलाई छानबिनको नाममा दुःख दिने तथा मानसिक यातना दिने काम भएको उनीहरुको गुनासो छ ।
साथै पत्रमा कामकाजको शिलशिलामा भन्सार राजस्व उठाउँदा यात्रुबाट सीमाहीन दुव्र्यवहार र अपशब्द खेपिरहनु परेको उल्लेख छ । आफूहरूको सरुवा मागको सुनुवाइ नभए कार्यालयको नियमित कार्य सम्पादन समेत प्रभावित हुने चेतावनी पत्रमा दिइएको छ ।
अर्थमन्त्रालय र त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बोधार्थ गरिएको पत्रमा आफूहरुलाई हेर्ने दृष्टिकोणसमेत नकारात्मक हुँदै गएको गुनासो गरिएको छ ।
प्रतिक्रिया