Main News

ललिता निवास बिर्साउने टीकापुर जग्गा प्रकरण (भिडियो रिपोर्टसहित)

२०८० भदौ १२ गते २०:४३
ललिता निवास बिर्साउने टीकापुर जग्गा प्रकरण (भिडियो रिपोर्टसहित)

१२ भदौ २०८० कैलाली । कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको झण्डै ३० बिघा ९६०० कट्ठा० सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारी भनिने राजनीतिक कार्यकर्ताले नेता, आफन्त र दलका कार्यकर्तालाई वितरण गरेको भेटिएको छ ।

पञ्चायतकालमा टीकापुर क्षेत्रको विकास गर्ने असल उद्देश्यले स्थापित टीकापुर विकास समितिका पदाधिकारीले बहुदलीय शासन प्रणाली स्थापना भएयता जग्गा वितरणमा मनपरी गरेको भेटिएको छ । लामो समय लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले यो तथ्य देखाएको हो ।

२०२८ साल भदौ २८ मा जारी भएको विकास समितिलाई टीकापुर क्षेत्रमा रहेको दुई हजार एक सय ७३ विघा जग्गा विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने अधिकार दिइएको थियो । त्यसमध्ये १ हजार बिघामा कृषि फार्म खोली यान्त्रिक खेती गर्ने, ८०० बिघा सुकुम्बासी र किसान परिवारलाई वितरण गर्ने, ३७३ बिघा नदीनाला संरक्षण गरी बाटो बनाउने र नगर बसाउने योजना थियो ।

समितिका अध्यक्षलाई जग्गा वितरण गर्ने अधिकार दिइँदा चरम अनियमितता भएको खुल्न आएको छ । प्रत्येक परिवारलाई चार चार कठ्ठाको दरले प्रतिष्पर्धा गराएर जग्गा वितरण गर्ने र नगर क्षेत्रको मूल्य सरकारले निर्धारण गर्ने नियमावलीमा उल्लेख छ । तर, बहुदलीय व्यवस्था लागू भएपछि जग्गा वितरणमा चरम भ्रष्टाचार भएको तथ्यले देखाएको छ । यसमा सांसद आरजु राणा र रेशम चौधरीले समेत सस्तोमा जग्गा लिएका छन् ।

टीकापुर बजार क्षेत्र वरिपरिको झण्डै ६ सय कट्ठा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारी भनिने राजनीतिक कार्यकर्ताले नक्कली कागजात बनाएर नेता, आफन्त र दलका कार्यकर्तालाई वितरण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोजनले भेटाएको छ । २०६४ सालयता समिति अध्यक्ष बनेकाले त नक्कली कागजात समेत बनाएर जग्गा वितरण गरेको प्रमाण छ ।

२०६४ जेठ १५ देखि समितिलाई नगर विकास ऐन २०४५ अन्तर्गत ल्याइएपछि अध्यक्षको अधिकार कटौती भयो । त्यसपछि अध्यक्षले पुराना फाइल जलाएर आफु अनुकुलका कार्यकर्ताको नाममा नक्कली कागज बनाएर जग्गा बाँडेको पाइएको छ ।

यसरी मिलेमतोका जग्गा हडप्नेमा कांग्रेस, एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीका स्थानीय नेता कार्यकर्ता र पहुँचवाला व्यक्ति छन् । यो विवादमा सबैभन्दा बढी नाम जोडिएका नेत्र जोशी लगायत पूर्वअध्यक्ष र मालपोतका कर्मचारी बोल्न चाहँदैनन् । मनोमानी ढङ्गले जग्गा बाँडेकाले अनुसन्धान गरेर कार्वाही गर्नु पर्ने स्थानीय अगुवाको माग छ ।

समितमा २०४८ सालमा तत्कालीन कैलाली क्षेत्र नम्बर १ चुनाब जितेर सांसद बनेका गङ्गा कुवर त्यो समयमा आफुले पाएको अधिकार प्रयोग गरेको तर बाहिर हल्ला आए जस्तो मन लाग्दी नगरेको दावी गर्नुहुन्छ ।

अहिले नगरपालिकाका मेयर नगर विकास समितिको पदेन अध्यक्ष हुने व्यवस्था छ । अध्यक्ष तथा मेयर रामलाल डगौराले जग्गा घोटाला काण्डमा नगरपालिकाका तर्फबाट सबै सहयोग गर्ने बताउनुहुन्छ ।

टीकापुर जग्गा घोटाला प्रकरण हालसम्म सार्वजनिक भएका जग्गा घोटालामध्ये जग्गाको परिमाण र त्यसमा संलग्न व्यक्तिको संख्याले नेपालकै सबैभन्दा ठूलो जग्गा घोटाला काण्ड हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *