बिशेष

प्रधानमन्त्रीको चीन भ्रमण, यस्ता छन् नेपालका एजेण्डा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ १२ गते १८:०३
प्रधानमन्त्रीको चीन भ्रमण, यस्ता छन् नेपालका एजेण्डा (भिडियो रिपोर्टसहित)

१२ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज ४ गते अमेरिकाबाट चीन जाँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर चीन जाने तयारी भइरहँदा प्रतिनिधसभाको आजको बैठकमा सांसदहरूले चीन भ्रमणका एजेन्डबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्रीले यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिने आश्वासन दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक चीन भ्रमणमा जाँदै हुनुहुन्छ । भारत र इटालीको भ्रमण गरिसक्नुभएका प्रचण्डले अमेरिका र चीनको भ्रमणसँगै गर्दै हुनुहुन्छ ।

त्यसैले पनि यो भ्रमणप्रति बढी चासो छ । यही विषयमा मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले चीन भ्रमणको एजेण्डाको माग गरेका थिए । जवाफमा प्रधानमन्त्रीले भ्रमण मुख्यत पुराना सम्झौता कार्यान्वयनको विषय केन्द्रित हुनेमा जोड दिनुभयो ।

प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा–
पुराना सम्झौता र समझदारी कार्यान्वयनमा जोड
दुई देशबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने
दुई देशबीच रहेका सीमा नाका सञ्चालनलाई प्रभावकारी बनाउने
नयाँ नाकाहरु खोल्ने
सडक, उर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा ब्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटी
कृषि¸ शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनामा चीनको सहयोग विस्तार
नाग्मा–गमगढी र गमगढी–नाक्चेलाग्ना सडकलाई उच्च प्राथमिकतामा

यस्तै चीनको औपचारिक भ्रमणमा विद्युत व्यापारबारे सम्झौताको तयारी गरिएको छ । यो सम्झौता भएर कार्यान्वयनमा आए नेपालका लागि सम्भावनाको ढोका खुल्नेछ । भारतले ४ सय मेगावाटको हाराहारीमा मात्र विद्युत खरिद गर्दा अहिले ७ सय मेगावाट खेर गइरहेको छ । चीनसँग सम्झौता भएर कार्यान्वयनमा जाने हो भने भारतको उर्जामा अघोषित नाकाबन्दी तोडिनेछ ।

नेपाल र चीनबीच चारवटा प्रसारण लाइन निर्माणको प्रस्तावमा छलफल अघि बढेका छन् । चीनले सप्तकोशी, सप्तगण्डकी र कर्णाली मुख्यनदी लक्षित गरेर ट्रान्समिसन लाइन निर्माणमा चासो देखाएको छ ।

–रसुवागढी–केरुङ विद्यु्त प्रसारण लाइन
–तातोपानी–खासा विद्यु्त प्रसारण लाइन
–कोराला–तिब्बत विद्यु्त प्रसारण लाइन
–किमान्थान्का–चेन्ताङ विद्यु्त प्रसारण लाइन

विद्युत उत्पादन बढेको तर स्वदेशमै खपत बढाउन नसकेको अहिलेको अवस्थामा जलविद्युत क्षेत्रमा गुणात्मक फड्को मार्न चीनसँग तत्काल विद्युत व्यापारको सम्झौता कोशेढुंगा सावित हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्