चीनले सार्वजनिक गर्यो भारतको अरुणाचल प्रदेश समेटिएको नक्शा

१२ भदौ २०८० काठमाडौं । चीनले भारतको अरुणाचल प्रदेशलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ ।
चीनको प्राकृतिक संसाधन मन्त्रालयले अरुणाचल र अक्साई चीनलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो ।
चाइना डेलीका अनुसार उक्त नक्सालाई २०२३ को चीनको स्टान्डर्ड नक्सा भनिएको छ । यो नक्सा चीन र विश्वका अन्य देशको ड्रइङ विधिको आधारमा बनाइएको छ । चीन र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । चीनले बेला९बेलामा अरुणाचल प्रदेशका विभिन्न ठाउँलाई चिनियाँ नाम दिँदै पनि आएको छ ।
यही अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानाको नाम परिवर्तन गरेको थियो । चीनले अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमिन आफ्नो भएको दाबी गर्दै आएको छ ।
भारतले भने चीनले पश्चिमी क्षेत्रमा करिब ३८ हजार वर्गकिलोमिटर क्षेत्रमा अवैधानिक रूपमा कब्जा जमाएको आरोप लगाउँदै आएको छ । दुई देशबीच पूर्वी लद्दाखलगायतका कैयौं सीमा विन्दुलाई लिएर मतभेद छ ।
दुवै देशका सेनाबीच झडप भएको तीन वर्ष बितिसक्दा पनि सीमा विवादको मुद्दाकै कारण दुई देशबीचको स्थिति सामान्य हुन सकेको छैन । सीमामा कुनै पनि बेला तनाव उत्पन्न हुन सक्ने संशय यथावत् छ ।
गलवान झडपमा २० जना भारतीय र ४ जना चिनियाँ सैनिक मारिएका थिए । उक्त घटनापछि सैन्यस्तरमा वार्ताहरू भएका छन् ।
प्रतिक्रिया